चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 24 of 1099
  • 2026-10-04
  • 12:28:20
  • आइतबार,आश्विन १८, २०८३

About Author

विभिन्न क्षेत्रमा विज्ञ खोज्दै महिला मन्त्रालय, रोस्टरमा नाम राख्न असोज ८ सम्म आवेदन

काठमाडौँ– महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न क्षेत्रमा विशेषज्ञता भएका व्यक्तिको राष्ट्रिय रोस्टर तयार गर्ने भएको छ । मन्त्रालयले रोस्टरमा सूचीकृत विज्ञबाट आवश्यकता अनुसार नीति निर्माणदेखि अध्ययन–अनुसन्धान र विषयगत परामर्शसम्मका काममा विशेषज्ञ सेवा लिने तयारी गरेको हो । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित क्षेत्रमा योग्यता र अनुभव भएका नेपाली नागरिकबाट आगामी असोज ८ गतेसम्म आवेदन मागेको छ । तर रोस्टरमा नाम समावेश हुँदैमा सम्बन्धित व्यक्तिले मन्त्रालयबाट नियुक्ति, काम वा पारिश्रमिक पाउने सुनिश्चितता भने नहुने मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार आवश्यकता, विज्ञको उपयुक्तता, प्रचलित कानून र स्वीकृत प्रक्रियाका आधारमा रोस्टरमा रहेका विज्ञमध्येबाट विशेषज्ञ सेवा लिन सकिनेछ । १२ भन्दा बढी क्षेत्रमा विज्ञ माग: मन्त्रालयले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक, सामाजिक सुरक्षा, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम तथा सामाजिक समावेशीकरणलगायतका क्षेत्रमा विज्ञ माग गरेको छ । मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित अन्य विषयका विशेषज्ञले समेत आवेदन दिन सक्नेछन् । रोस्टरमार्फत नीति तथा कानून निर्माण तथा समीक्षा, योजना तथा कार्यक्रम तर्जुमा, अध्ययन–अनुसन्धान, अनुगमन तथा मूल्यांकन, तालिम तथा क्षमता विकास र प्राविधिक तथा विषयगत परामर्शका लागि विज्ञ सेवा लिने मन्त्रालयको तयारी छ । स्नातकदेखि अनुभवसम्मको आधारमा छनोट: रोस्टरमा सूचीकृत हुन मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह वा सोसरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ । आवेदकले नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, अद्यावधिक वैयक्तिक विवरण तथा अध्ययन, अनुसन्धान वा प्रकाशनसम्बन्धी विवरण पेस गर्नुपर्नेछ । आवश्यकताअनुसार आवेदकको शैक्षिक योग्यता, कार्यानुभव र विशेषज्ञता सम्बन्धित निकायमार्फत सत्यापन गर्न सकिने मन्त्रालयले जनाएको छ । असोज ८ सम्म आवेदन: विज्ञ रोस्टरका लागि आवेदन दिने अन्तिम मिति २०८३ असोज ८ गते तोकिएको छ । तोकिएको समयपछि प्राप्त आवेदनमाथि कारबाही नहुने मन्त्रालयले जनाएको छ । प्राप्त आवेदनको अध्ययन तथा परीक्षणपछि न्यूनतम योग्यता र आवश्यक अनुभव पूरा गरेका व्यक्तिलाई उनीहरूको विज्ञताको क्षेत्रअनुसार राष्ट्रिय रोस्टरमा समावेश गरिनेछ ।

News by विभिन्न क्षेत्रमा विज्ञ खोज्दै महिला मन्त्रालय, रोस्टरमा नाम राख्न असोज ८ सम्म आवेदन :