काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पहलमा बसिरहेको प्रतिपक्षी दलहरूको बैठकमा चारवटा महत्त्वपूर्ण विषयलाई छलफलको मुख्य एजेन्डा बनाइएको छ। न्यायाधीशमाथि महाभियोग लगाउने विषयदेखि संसद् सञ्चालन, प्रहरी महानिरीक्षकसँग सम्बन्धित विवाद र प्रेस स्वतन्त्रताको संरक्षणसम्मका विषयमा विपक्षी दलहरूले साझा धारणा बनाउने तयारी गरेका छन्।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक तथा संवैधानिक विषयलाई केन्द्रमा राखेर छलफल गर्न चार एजेन्डा तय गरिएको हो।
बैठकका प्रमुख एजेन्डामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायाधीशहरूमाथि महाभियोग लगाउने सम्बन्धमा गरेको निर्णय, त्यसपछिको कानुनी तथा संसदीय प्रक्रिया र यस विषयमा प्रतिपक्षी दलहरूको धारणा समावेश छन्।
त्यस्तै, संसद् बैठक सञ्चालन तथा संसदीय छानबिन समिति गठनको माग कसरी अघि बढाउने भन्ने विषयमा पनि छलफल हुने जनाइएको छ।
प्रहरी महानिरीक्षकका विषयमा सार्वजनिक भएका आशङ्का र प्रश्नबारे साझा धारणा निर्माण गर्ने विषयलाई पनि विपक्षी दलहरूले बैठकको एजेन्डा बनाएका छन्।
यसैगरी प्रेस स्वतन्त्रता, न्यायालय तथा संवैधानिक निकायहरूको स्वतन्त्रता र स्वायत्तता कायम राख्नुपर्ने विषयमा पनि दलहरूबीच छलफल हुनेछ।
बैठक दिउँसो १ बजे कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने तय भए पनि केही ढिलाइ भएको छ। बैठकमा सहभागी हुन विभिन्न प्रतिपक्षी दलका नेताहरू कांग्रेस संसदीय दलको कार्यालय पुगेका छन्।
नेकपा एमालेका तर्फबाट सचिव तथा संसदीय दलकी उपनेता पद्मा अर्याल, नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट संसदीय दलका नेता वर्षमान पुन र प्रमुख सचेतक युवराज दुलाल सहभागी भएका छन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रमुख सचेतक खुश्बु ओली पनि बैठकमा सहभागी भएकी छन्।
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेको सचिवालयका अनुसार श्रम संस्कृति पार्टीसहित संसद्बाहिर रहेका दलहरूलाई समेत बैठकमा सहभागी हुन आमन्त्रण गरिएको छ।
बैठकबाट समसामयिक राजनीतिक घटनाक्रममा प्रतिपक्षी दलहरूको साझा धारणा तय गर्ने अपेक्षा गरिएको छ।