धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकामा प्रथम नगरस्तरीय यू–१८ छात्र फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। कृष्णपुर नगरपालिकासँगको सहकार्यमा कृष्णपुर नगरस्तरीय बाल सञ्जालले प्रतियोगिता आयोजना गर्न लागेको हो।
सोमबारदेखि सुरु हुने प्रतियोगिता कात्तिक १९ गते सम्पन्न हुनेछ। प्रतियोगिताबारे जानकारी दिन आयोजक बाल सञ्जालले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको ट्रफीसमेत सार्वजनिक गरेको छ।
‘नसाको मैदान छोडौँ, फुटबलको मैदान रोजौँ’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।
त्यस्तै, दोस्रो हुने टोलीले २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्दा तेस्रो हुने टोलीले १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताले युवालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै लागुऔषध दुर्व्यसनबाट टाढा राख्न र स्थानीय स्तरमा फुटबल खेलको विकासमा योगदान पुर्याउने अपेक्षा आयोजकको छ।