काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जितको खोजीमा रहेको काठमान्डु गोर्खाजले कर्णाली याक्सविरुद्धको खेलमा अनुभवी अस्ट्रेलियन ब्याटर डेभिड वार्नरलाई पहिलो रोजाइमा उतारेको छ ।
सोमबार भइरहेको खेलमा काठमान्डुले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । काठमान्डुका कप्तान करण केसीले टस जित्दै कर्णालीलाई ब्याटिङको निम्तो दिएका हुन् ।
यस खेलका लागि काठमान्डुले अघिल्लो खेलको टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । अस्ट्रेलियन खेलाडी साम हिजलेट, सुमित महर्जन र हरिशंकर शाहको स्थानमा वार्नर, सन्तोष यादव र देव शाहलाई टोलीमा समावेश गरिएको छ ।
वार्नरले हिजलेटको स्थान लिएका हुन् । अनुभवी ब्याटर वार्नरको उपस्थितिले काठमान्डुको ब्याटिङ पक्षलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
यता कर्णाली याक्सले पनि आफ्नो टोलीमा एक परिवर्तन गरेको छ । बंगलादेशका अकबर अलीको स्थानमा सोही देशका जिशान आलमले खेल्ने अवसर पाएका छन् ।
प्रतियोगितामा कर्णाली याक्सले उत्कृष्ट सुरुवात गरेको छ । सुरुवाती दुवै खेल जितेको कर्णाली चार अङ्कसहित लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा मैदान उत्रिएको छ ।
अर्कोतर्फ पहिलो खेलमा जनकपुरसँग पराजित भएको काठमान्डु दबाबमा छ । प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको काठमान्डुले वार्नरको आगमनसँगै ब्याटिङमा सुधार गर्दै कर्णालीलाई चुनौती दिने लक्ष्य राखेको छ ।