एलपी ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम, ५८ उद्योग समेटिने - Chaitanya News
  • 2026-11-02
  • 14:20:32
  • सोमबार,कार्तिक १७, २०८३
  • एलपी ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम, ५८ उद्योग समेटिने

    एलपी ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम, ५८ उद्योग समेटिने

    काठमाडौँः नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ। विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका ग्यास उद्योगलाई गाभेर बिक्री वितरण प्रणाली थप व्यवस्थित बनाउने नीति निगमले अघि सारेको हो।

    निगमले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ अनुसार ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने जनाएको छ। हाल नेपालमा विभिन्न ब्रान्डका ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्।

    यसै सन्दर्भमा निगमले कात्तिक १२ गते सबै ग्यास उद्योगलाई पत्राचार गर्दै उद्योग गाभ्ने नीतिलाई प्रोत्साहन गर्न आग्रह गरेको छ। साथै, सोहीअनुसार आवश्यक कार्ययोजना बनाई गाभ्ने प्रक्रिया अघि बढाउन निगमले अनुरोध गरेको छ।

    निगमका अनुसार उद्योग गाभ्ने नीतिले ग्यासको बिक्री वितरण प्रणालीलाई थप व्यवस्थित, सहज र उपभोक्तामैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।