नापी, मालपोतदेखि स्थानीय तहसम्मका अधिकारीसँग मन्त्री रावलको छलफल - Chaitanya News
  • 2026-11-02
  • 14:10:47
  • सोमबार,कार्तिक १७, २०८३
  • नापी, मालपोतदेखि स्थानीय तहसम्मका अधिकारीसँग मन्त्री रावलको छलफल

    नापी, मालपोतदेखि स्थानीय तहसम्मका अधिकारीसँग मन्त्री रावलको छलफल

    काठमाडौँ– भूमिहीन, सुकुम्वासी तथा सहकारीपीडितका समस्या र भूमि व्यवस्थापनमा देखिएका जटिलता बुझ्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल झापा पुगेकी छन् ।

    झापा पुगेकी मन्त्री रावलले जिल्लाको प्रशासनिक अवस्था, भूमि व्यवस्थापनका समस्या तथा स्थानीय तह र सरकारी कार्यालयबीचको समन्वयलाई केन्द्रमा राखेर छलफल थालेकी हुन् ।

    उनले झापाका प्रमुख जिल्ला अधिकारी, नापी तथा मालपोत कार्यालयका प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूसँग छलफल गरिरहेकी छन् । छलफलमा जिल्लामा भूमि प्रशासन सञ्चालनका क्रममा देखिएका समस्या, सेवा प्रवाहको अवस्था र समाधानका लागि आवश्यक समन्वयका विषयमा कुराकानी भइरहेको छ ।

    मन्त्री रावलको भ्रमणका क्रममा जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी तथा सहकारीपीडितहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ । त्यसक्रममा भूमिहीन तथा सुकुम्वासीका समस्या, सहकारीमा बचत रकम फसेका पीडितका गुनासा र भूमि व्यवस्थापनसँग जोडिएका विषयमा जानकारी लिने तयारी छ ।

    त्यस्तै, स्थानीय नागरिकसँग अन्तरक्रिया गरेर उनीहरूका समस्या, गुनासा र अपेक्षाबारे प्रत्यक्ष जानकारी लिइने जनाइएको छ । नागरिकका समस्या समाधान गर्न मन्त्रालयले हालसम्म गरेका काम, अघि बढाइएका प्रयास तथा आगामी योजनाबारे समेत कार्यक्रममा जानकारी गराइनेछ ।

    स्थानीय तह, जिल्ला प्रशासन, नापी र मालपोत कार्यालयबीच प्रभावकारी समन्वय कायम गर्दै सेवा प्रवाहलाई सहज बनाउने विषयमा पनि छलफल हुने बताइएको छ । नागरिकका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायबीच आवश्यक सहकार्य र समाधानका सम्भावित उपाय पहिचान गर्ने मन्त्री रावलको भ्रमणको उद्देश्य रहेको जनाइएको छ ।

    मन्त्रीको झापा भ्रमणलाई भूमि व्यवस्थापन, प्रशासनिक सेवा प्रवाह र सहकारीपीडितका समस्याबारे स्थानीय तहबाटै जानकारी लिने प्रयासका रूपमा हेरिएको छ ।