अनावश्यक ग्यास सिलिन्डर सञ्चय नगर्न उपभोक्तालाई ग्यास उद्योग सङ्घको आग्रह - Chaitanya News
  • 2026-11-02
  • 14:32:12
  • सोमबार,कार्तिक १७, २०८३
  • अनावश्यक ग्यास सिलिन्डर सञ्चय नगर्न उपभोक्तालाई ग्यास उद्योग सङ्घको आग्रह

    अनावश्यक ग्यास सिलिन्डर सञ्चय नगर्न उपभोक्तालाई ग्यास उद्योग सङ्घको आग्रह

    धनगढीः नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यासको आयात निरन्तर बढिरहेको जनाउँदै अनावश्यक रूपमा ग्यास सिलिन्डर सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ। भारतबाट सहज रूपमा ग्यास आयात भइरहेको र उद्योगहरूले निरन्तर सिलिन्डर भरेर बजारमा पठाइरहेकाले आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न सङ्घले अनुरोध गरेको हो।

    सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले आज जारी गरेको विज्ञप्तिमा उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगरे अहिले देखिएको अभावको समस्या तत्काल समाधान हुने उल्लेख गरेका छन्।

    ‘उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको ग्यास अभावको समस्या तत्कालै समाधान हुने देखिन्छ। आगामी दिनमा पनि ग्यास आपूर्तिमा समस्या नहुने भएकाले ग्यासको अभाव देखिने सम्भावना छैन,’ विज्ञप्तिमा भनिएको छ।

    नेपाल आयल निगमको पहलमा भारतका विभिन्न शोधनशालाबाट सहज रूपमा एलपी ग्यास आयात भइरहेको सङ्घले जनाएको छ। पछिल्लो समय ग्यासको आयात करिब १५ प्रतिशतले वृद्धि भएको छ।

    निगमका अनुसार पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिकटन ग्यास आयात भएको छ। यस आधारमा चालु आर्थिक वर्षको साउन महिनामा करिब ५५ हजार मेट्रिकटन ग्यास आयात हुने अनुमान गरिएको छ।

    गत आर्थिक वर्षको सोही अवधिमा ४४ हजार ३१८ मेट्रिकटन ग्यास आयात भएको थियो। गत वर्षको तुलनामा यस वर्ष ग्यास आयात बढेको निगमको तथ्याङ्कले देखाएको छ।

    उपभोक्तालाई बजारको मागअनुसार ग्यास उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहेको जनाउँदै सङ्घले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्रीवितरण गर्न विक्रेताहरूलाई समेत आग्रह गरेको छ।