पोषणको अवस्था पत्ता लगाउन देशभर सर्वेक्षण हुँदै, १२ हजारभन्दा बढी व्यक्ति समेटिने - Chaitanya News
  • 2026-11-02
  • 15:06:26
  • सोमबार,कार्तिक १७, २०८३
  • पोषणको अवस्था पत्ता लगाउन देशभर सर्वेक्षण हुँदै, १२ हजारभन्दा बढी व्यक्ति समेटिने

    पोषणको अवस्था पत्ता लगाउन देशभर सर्वेक्षण हुँदै, १२ हजारभन्दा बढी व्यक्ति समेटिने

    काठमाडौं– नेपालमा बालबालिका, किशोरकिशोरी तथा महिलासहित विभिन्न उमेर समूहका नागरिकको पोषण अवस्था पत्ता लगाउन राष्ट्रिय स्तरको सूक्ष्म पोषक तत्त्व सर्वेक्षण गरिने भएको छ। ‘नेपाल सूक्ष्म पोषक तत्त्व सर्वेक्षण २०२६’ मार्फत शरीरमा आवश्यक भिटामिन तथा खनिज तत्त्वको उपलब्धता र पोषणसम्बन्धी समस्याको अवस्था पहिचान गरिनेछ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको नेतृत्वमा सञ्चालन हुने सर्वेक्षणले देशको पोषण अवस्थाबारे राष्ट्रिय तथा प्रदेशस्तरको नयाँ तथ्यांक उपलब्ध गराउनेछ। यसबाट सरकारले सञ्चालन गरिरहेका पोषणसम्बन्धी कार्यक्रमको प्रभावकारिता मूल्यांकन गर्नुका साथै आगामी नीति तथा योजना निर्माणमा आधार प्राप्त गर्ने अपेक्षा गरिएको छ।

    सर्वेक्षणमा शरीरका लागि आवश्यक भिटामिन ‘ए’, भिटामिन ‘बी १२’, आइरन, आयोडिन, जिंक र फोलेटको अवस्थाबारे परीक्षण गरिनेछ। यसबाहेक रक्तअल्पता, संक्रमणसँग सम्बन्धित सूचक, शारीरिक वृद्धि तथा समग्र पोषण अवस्थाको पनि अध्ययन हुनेछ। पोषण सुधारका लागि सञ्चालित कार्यक्रमको पहुँच र सेवाग्राहीले त्यसको पालना गरे नगरेको विषयसमेत मूल्यांकन गरिनेछ।

    सन् २०२६ अप्रिलदेखि २०२७ मार्चसम्म सञ्चालन हुने सर्वेक्षणमा देशका सातै प्रदेशका साथै हिमाल, पहाड र तराई क्षेत्रलाई समेटिनेछ। अध्ययनका लागि २८० वटा क्लस्टर छनोट गरिनेछ भने ८ हजार ४०० घरपरिवारका करिब १२ हजार २३६ जनालाई सहभागी गराइनेछ।

    सर्वेक्षणमा घरमूली, १५ देखि ४९ वर्ष उमेर समूहका महिला, १० देखि १९ वर्षका किशोरकिशोरी, ६ देखि ९ वर्षका बालबालिका तथा ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था अध्ययन गरिनेछ। गर्भवती महिलालाई पनि अध्ययनमा समावेश गरिनेछ।

    यसका लागि विभिन्न क्षेत्रमा काम गर्ने २०५ जना जनशक्ति परिचालन गर्ने तयारी गरिएको छ। गुणस्तर नियन्त्रक, तथ्यांक संकलक, सुपरिवेक्षक, अन्तर्वार्ताकार, रक्त नमुना संकलक, प्रयोगशाला प्राविधिक तथा नमुना ढुवानीमा संलग्न जनशक्तिलाई नोभेम्बर १७ देखि २८ सम्म तालिम दिइनेछ।

    नेपालमा यसअघि सन् २०१६ मा राष्ट्रिय सूक्ष्म पोषक तत्त्व अवस्था सर्वेक्षण गरिएको थियो। उक्त सर्वेक्षणले विभिन्न उमेर समूहमा सूक्ष्म पोषक तत्त्वको कमी तथा रक्तअल्पताको अवस्था उजागर गरेको थियो। त्यसपछि सरकारले पोषण सुधारका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    करिब एक दशकपछि हुन लागेको नयाँ सर्वेक्षणले विगतका कार्यक्रमबाट भएका सुधार र अझै कायम रहेका पोषणसम्बन्धी चुनौती पहिचान गर्न सहयोग गर्नेछ। प्राप्त तथ्यांकका आधारमा पोषणसम्बन्धी नीति, योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउने सरकारको अपेक्षा छ।