संसद् अधिवेशन बोलाउन विपक्षी दलको दबाब, अध्यादेशबाट शासन गर्न खोजेको आरोप - Chaitanya News
  • 2026-11-03
  • 17:23:08
  • मंगलबार,कार्तिक १८, २०८३
  • संसद् अधिवेशन बोलाउन विपक्षी दलको दबाब, अध्यादेशबाट शासन गर्न खोजेको आरोप

    संसद् अधिवेशन बोलाउन विपक्षी दलको दबाब, अध्यादेशबाट शासन गर्न खोजेको आरोप

    काठमाडौं– सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको भन्दै विपक्षी दलहरूले तत्काल संघीय संसद्को अधिवेशन बोलाउन माग गरेका छन्।

    सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संसद् अधिवेशन तत्काल आह्वान गर्नुपर्ने निष्कर्ष निकालेको हो।

    बैठकमा सुनसरीको कप्तानगञ्जमा भएको घटना, गृहमन्त्रीको सम्पत्तिसम्बन्धी प्रतिवेदन सार्वजनिक नगरिएको विषय तथा सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको आरोपलगायतका विषयमा छलफल भएको थियो।

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दाम्बेले सरकारले अध्यादेशलाई प्राथमिकता दिएको भन्दै संसद्को भूमिकामाथि प्रश्न उठेको बताए।

    उनका अनुसार सरकारले अध्यादेशमार्फत शासन गर्न खोज्दा संसद्को औचित्य नै समाप्त भएजस्तो देखिएको छ। यही विषयलाई ध्यानमा राख्दै विपक्षी दलहरूले तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्न सरकारसँग माग गर्ने निर्णय गरेका हुन्।