काठमाडौं– यस वर्षको भाइटीका कात्तिक २५ गते बुधबार मनाइने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटको शुभसाइत निर्धारण गरेको छ।
समितिका सदस्य लक्ष्मण पन्थीले अनलाइनखबरलाई दिएको जानकारीअनुसार यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११:०७ बजे रहेको हो। समितिले भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्ने जनाएको छ।
यस वर्षको यमपञ्चक भने कात्तिक २० गते शुक्रबारदेखि सुरु हुनेछ। यमपञ्चकको पहिलो दिन धनत्रयोदशी (धन्तेरस) तथा यमदीपदान गरिनेछ।
त्यसैगरी, कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती, कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा मनाइनेछ।
कात्तिक २३ गते सोमबार गाईपूजा हुनेछ भने कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइने समितिले जनाएको छ। यही दिनदेखि नेपाल संवत् ११४७ पनि प्रारम्भ हुनेछ।
यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइनेछ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै टीका लगाएर भाइटीका पर्व मनाउने परम्परा छ।