एनपीएल: जनकपुरलाई दुई रनले हराउँदै विराटनगर विजयी - Chaitanya News
  • 2026-11-03
  • 17:06:55
  • मंगलबार,कार्तिक १८, २०८३
  • एनपीएल: जनकपुरलाई दुई रनले हराउँदै विराटनगर विजयी

    एनपीएल: जनकपुरलाई दुई रनले हराउँदै विराटनगर विजयी

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको रोमाञ्चक प्रतिस्पर्धामा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गरेको छ। जितका लागि १७५ रनको लक्ष्य पछ्याएको जनकपुर अन्तिम ओभरसम्म संघर्ष गरे पनि लक्ष्य भेट्टाउन असफल भयो।

    विराटनगरले दिएको लक्ष्य पछ्याउने क्रममा जनकपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो। जनकपुरका लागि सैफ हसनले अविजित ७१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। विशाल सुशलिङले ४३ तथा जिम्मी निशामले २७ रनको योगदान दिए।

    जनकपुरलाई लक्ष्यसम्म पुग्न नदिन विराटनगरका आन्द्रे रसेलले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। एन्जेलो म्याथ्युजले दुई तथा रुपेश सिंहले एक विकेट हात पारे।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रन बनाएको थियो। विराटनगरका इमरान शेखले सर्वाधिक ५६ रन बनाउँदा लोकेश बमले ५० रन जोडे।

    त्यस्तै आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै २८ बलमा अर्धशतक पूरा गरे। उनले अविजित ५२ रन बनाएपछि विराटनगरले जनकपुरसामु प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो।

    जनकपुरका बलर अभिषेक तिवारीले दुई विकेट लिए भने मोईन अलीले एक विकेट हात पारे।

    विराटनगरले ब्याटिङ र बलिङ दुवैमा सन्तुलित प्रदर्शन गर्दै रोमाञ्चक खेल आफ्नो पक्षमा पारेको हो। जनकपुरले लक्ष्य नजिक पुगेर पनि दुई रनको अन्तरमा खेल गुमाउन पुग्यो।