नेपाली जुसको निर्यातमा उछाल, तीन महिनामै २ अर्बको व्यापार - Chaitanya News
  • 2026-11-03
  • 16:23:49
  • मंगलबार,कार्तिक १८, २०८३
  • नेपाली जुसको निर्यातमा उछाल, तीन महिनामै २ अर्बको व्यापार

    नेपाली जुसको निर्यातमा उछाल, तीन महिनामै २ अर्बको व्यापार

    काठमाडौं– नेपाली जुसले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै गएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै नेपालबाट २ करोड २६ लाख लिटरभन्दा बढी जुस निर्यात भएको छ। यसबाट मुलुकले २ अर्ब २० करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ।

    भन्सार विभागको साउनदेखि असोजसम्मको तथ्यांकअनुसार नेपालबाट विभिन्न प्रकारका २ करोड २६ लाख ६९ हजार ५७५ लिटर जुस विदेश निर्यात भएको हो। उक्त परिमाणको जुस निर्यातबाट २ अर्ब २० करोड ७९ लाख ७६ हजार रुपैयाँ आम्दानी भएको विभागले जनाएको छ।

    नेपाली जुसको सबैभन्दा ठूलो बजार छिमेकी भारत बनेको छ। भारतबाहेक चीन र जापानमा समेत नेपाली जुस निर्यात भइरहेको छ। यद्यपि कुल निर्यातमा भारतको हिस्सा अत्यधिक रहेको देखिन्छ।

    मिक्स जुसको निर्यात सबैभन्दा धेरै:

    नेपालबाट निर्यात हुने जुसमध्ये विभिन्न फलफूलको मिश्रणबाट तयार गरिने मिक्स जुसको हिस्सा सबैभन्दा ठूलो छ। समीक्षा अवधिमा १ अर्ब ४३ करोड १५ लाख ७२ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ५६ हजार ६२४ लिटर मिक्स जुस निर्यात भएको छ।

    मिक्स जुस भारत, चीन र जापानमा निर्यात भएको भन्सार विभागको तथ्यांक छ। जसमध्ये भारतमा मात्रै १ अर्ब ४२ करोड ८२ लाख ९१ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ३३ हजार ३८६ लिटर मिक्स जुस पठाइएको छ।

    त्यस्तै जापानमा २३ लाख ४७ हजार रुपैयाँ बराबरको १३ हजार ३८ लिटर र चीनमा ९ लाख ३५ हजार रुपैयाँ मूल्यको १० हजार २०० लिटर मिक्स जुस निर्यात भएको छ।

    सुन्तला र भुइँकटहरको जुस पनि निर्यातमा अगाडि:

    मिक्स जुसपछि नेपालबाट धेरै निर्यात हुनेमा सुन्तला र भुइँकटहरको जुस रहेका छन्।

    पहिलो त्रैमासमा ३५ करोड ८७ लाख ८ हजार रुपैयाँ बराबरको ३२ लाख ७२ हजार २७५ लिटर सुन्तलाको जुस निर्यात भएको छ। त्यस्तै, २२ करोड १३ लाख २२ हजार रुपैयाँ बराबरको १८ लाख ४३ हजार ३२६ लिटर भुइँकटहरको जुस विदेश पठाइएको छ।

    यी दुवै प्रकारका जुस शतप्रतिशत भारतमा मात्रै निर्यात भएका छन्। यसले नेपाली फलफूलजन्य पेय पदार्थको बजार विस्तारमा भारतीय बजारको महत्त्वपूर्ण भूमिका रहेको देखाउँछ।

    स्याउ, ग्रेपफ्रुट र गोलभेँडाको जुस पनि निर्यात:

    नेपालबाट अन्य फलफूल तथा तरकारीजन्य जुसको निर्यातसमेत उल्लेख्य देखिएको छ। समीक्षा अवधिमा १६ करोड ८५ लाख २२ हजार रुपैयाँ मूल्यको १४ लाख ४८ हजार ९०४ लिटर स्याउको जुस निर्यात भएको छ।

    त्यसैगरी, १ करोड ५२ लाख ७४ हजार रुपैयाँ बराबरको १ लाख ९२ हजार २५४ लिटर ग्रेपफ्रुट जुस र १ करोड २५ लाख ७८ हजार रुपैयाँ बराबरको १ लाख ५६ हजार १९२ लिटर गोलभेँडाको जुस निर्यात भएको छ। यी सबै प्रकारका जुसको मुख्य बजार पनि भारत नै रहेको छ।

    तीन महिनाको निर्यात तथ्यांकले नेपाली जुस उत्पादनले विदेशी बजारमा स्थान बनाइरहेको देखाउँछ। विशेषगरी मिक्स जुस, सुन्तला र भुइँकटहरको जुस निर्यातमा देखिएको परिमाणले नेपाली प्रशोधित पेय पदार्थको व्यापारिक सम्भावना उजागर गरेको छ।

    तर नेपाली जुस निर्यातको ठूलो हिस्सा एउटै मुलुक भारतमा केन्द्रित रहेकाले अन्य अन्तर्राष्ट्रिय बजारमा समेत पहुँच विस्तार गर्नु चुनौती र अवसर दुवैका रूपमा देखिएको छ। चीन, जापानलगायतका बजारमा निर्यात विस्तार गर्न सके नेपाली जुस उद्योगले आफ्नो बजार थप फराकिलो बनाउन सक्ने सम्भावना देखिन्छ।