काठमाडौं– आन्तरिक रोजगारीका अवसर विस्तार गर्दै सीपयुक्त जनशक्ति उत्पादन र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित सरकारले ७५३ वटै स्थानीय तहमा रहेका सीप, रोजगार तथा उद्यमशीलता केन्द्रलाई थप प्रभावकारी बनाउने तयारी गरेको छ। यसका लागि सरकार र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बीच सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र आईएलओका नेपाल निर्देशक नुमान ओज्कानबीच मंगलबार भएको भेटवार्तामा स्थानीय तहमा रोजगार सेवा विस्तार, सीप विकास तथा मर्यादित रोजगारी प्रवर्द्धनका विषयमा छलफल भएको हो।
स्थानीय तहमा रहेका रोजगार तथा सीपसम्बन्धी संरचनालाई प्रभावकारी रूपमा परिचालन गर्दै नागरिकलाई रोजगारीसँग जोड्ने विषयलाई भेटवार्तामा प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ।
विशेषगरी संघीय संरचनाअन्तर्गत स्थानीय तहसम्म सञ्चालनमा रहेका सीप, रोजगार तथा उद्यमशीलता केन्द्रहरूको संस्थागत क्षमता अभिवृद्धि गर्ने, आवश्यक नीतिगत सुधार गर्ने र रोजगारसम्बन्धी कार्यक्रमको कार्यान्वयन प्रभावकारी बनाउने विषयमा दुवै पक्षबीच छलफल भएको थियो।
नेपालमा बेरोजगारी तथा वैदेशिक रोजगारीमा निर्भरता चुनौतीका रूपमा रहँदै आएको अवस्थामा स्थानीय स्तरमै सीप विकास र रोजगारीका अवसर विस्तार गर्नु आवश्यक देखिएको छ। स्थानीय तहमा रहेका रोजगार केन्द्रलाई प्रभावकारी बनाउन सके बेरोजगार नागरिकको पहिचान, उनीहरूको सीपअनुसारको अवसर खोजी तथा रोजगारदातासँगको समन्वयमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसअघि पनि सरकारले स्थानीय तहमा रहेका रोजगार, सीप तथा उद्यमशीलता केन्द्रलाई परिचालन गरी आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने नीति अघि सारेको थियो। मन्त्री यादवले संसद्मा ७५३ वटै स्थानीय तहका केन्द्रलाई सक्रिय बनाइएको जानकारीसमेत गराएका थिए।
यता आईएलओले नेपालमा सार्वजनिक रोजगार सेवालाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउँदै आएको छ। त्यस्तै, संस्थागत क्षमता विकास, रोजगारसम्बन्धी तथ्याङ्क प्रणालीको सुधार तथा श्रम बजारको आवश्यकताअनुसार सीप विकास कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पनि संगठनले जोड दिँदै आएको छ।
सरकार र आईएलओबीचको सहकार्य विस्तारले स्थानीय तहमा रहेका रोजगार केन्द्रहरूको सेवा प्रवाह सुधार गर्न तथा सीपयुक्त जनशक्तिलाई रोजगारीका अवसरसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।