इमरान र लोकेशको अर्धशतकपछि रसेलको छक्का वर्षा, विराटनगरले बनायो १७४ रन - Chaitanya News
  • 2026-11-03
  • 15:30:16
  • मंगलबार,कार्तिक १८, २०८३
  • इमरान र लोकेशको अर्धशतकपछि रसेलको छक्का वर्षा, विराटनगरले बनायो १७४ रन

    इमरान र लोकेशको अर्धशतकपछि रसेलको छक्का वर्षा, विराटनगरले बनायो १७४ रन

    काठमाडौं– नेपाली ब्याटर लोकेश बम र इमरान शेखको उत्कृष्ट साझेदारी तथा आन्द्रे रसेलको आक्रामक ब्याटिङमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्ससामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७४ रन जोडेको हो।

    विराटनगरको इनिङ्समा नेपाली ब्याटर लोकेश र इमरानले अर्धशतक प्रहार गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए। लोकेशले ४० बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाए भने इमरानले ४५ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५६ रनको योगदान दिए।

    एनपीएल इतिहासमा एउटै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक प्रहार गरेको यो पहिलो अवसर हो।

    विराटनगरको सुरुवात भने राम्रो हुन सकेन। ओपनर शेहान जयासूर्य टोलीको स्कोर २ रन हुँदा नै आउट भए। त्यसपछि क्रिजमा आएका इमरान र लोकेशले जिम्मेवार ब्याटिङ गर्दै दोस्रो विकेटका लागि १०७ रनको महत्त्वपूर्ण साझेदारी गरे। जारी सिजनमा यो पहिलो शतकीय साझेदारीसमेत हो।

    दुई नेपाली ब्याटरले इनिङ्स सम्हालेपछि अन्तिमतिर आन्द्रे रसेलले विस्फोटक ब्याटिङ गर्दै विराटनगरको स्कोरलाई प्रतिस्पर्धात्मक बनाए। उनले मात्र २९ बलमा अविजित ५२ रन बनाए। रसेलको इनिङ्समा २ चौका र ५ छक्का समावेश रहे।

    त्यस्तै शुभम रन्जाने ७ रनमा अविजित रहे।

    जनकपुरका बलरमध्ये अभिषेक तिवारीले सर्वाधिक २ विकेट लिए भने मोइन अलीले १ विकेट आफ्नो नाममा गरे।

    अब जनकपुर बोल्ट्सले जितका लागि निर्धारित २० ओभरमा १७५ रन बनाउनुपर्नेछ।