काठमाडौं– रसुवाको भोटेकोशी–त्रिशूली नदी बाढी प्रभावित क्षेत्रमा सुरक्षित खानेपानी प्रमुख स्वास्थ्य चुनौतीका रूपमा देखिएको छ। स्वास्थ्य सेवा विभागले हालसम्म प्रभावित क्षेत्रमा महामारी फैलिएको पुष्टि नभएको जनाए पनि परीक्षण गरिएका खानेपानीका नमुनामध्ये पाँच वटामा दिसाजन्य जीवाणु भेटिएपछि सम्भावित पानीजन्य रोगको जोखिम नियन्त्रणका लागि निगरानी र रोकथामका कार्यक्रम तीव्र बनाएको छ।
बाढी प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिन नदिन स्वास्थ्यकर्मी परिचालन, खानेपानी शुद्धीकरण, रोग निगरानी तथा उपचारका कार्यक्रम सञ्चालन भइरहेको विभागले जनाएको छ।
मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले प्रभावित क्षेत्रको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका हुन्।
उनका अनुसार प्रभावित क्षेत्रबाट संकलन गरिएका खानेपानीका १५ वटा नमुना परीक्षण गर्दा पाँच वटामा दिसामा पाइने जीवाणु भेटिएका थिए। दूषित पानीको प्रयोगले झाडापखाला, हैजा लगायतका पानीजन्य रोग फैलिन सक्ने भएकाले पानीको क्लोरिनेसन तथा शुद्धीकरण अभियान सञ्चालन गरिएको उनले बताए।
सम्भावित हैजाको जोखिम न्यूनीकरणका लागि रसुवाका २१ हजार ६०० र नुवाकोटका ८० हजार ५२३ गरी कुल एक लाख दुई हजार १२३ जनालाई मुखबाट खुवाइने हैजाविरुद्धको खोप दिइएको विभागले जनाएको छ।
२१ हजारभन्दा बढीले होल्डिङ सेन्टरबाट लिए स्वास्थ्य सेवा:
बाढी प्रभावित नागरिकलाई उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न स्थानमा १४ वटा होल्डिङ सेन्टर स्थापना गरिएको विभागले जनाएको छ। ती केन्द्रमार्फत २१ हजार ३९१ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
त्यसैगरी, आकस्मिक चिकित्सा टोली तथा स्वास्थ्य शिविरमार्फत थप नौ हजार ५६४ जनालाई उपचार तथा अन्य स्वास्थ्य सेवा उपलब्ध गराइएको पौडेलले समितिलाई जानकारी गराए।
बाढीपछि प्रभावित क्षेत्रमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण, उपचार र रोगको सम्भावित प्रकोप पहिचानलाई प्राथमिकता दिइएको विभागको भनाइ छ।
नौ हजारभन्दा बढीलाई मनोसामाजिक परामर्श:
बाढीले नागरिकको भौतिक संरचना र जनजीवनमा पारेको असरका साथै मानसिक स्वास्थ्यमा समेत प्रभाव पारेको विभागले जनाएको छ।
प्रभावित क्षेत्रमा १३९ जना मानसिक स्वास्थ्यसम्बन्धी जनशक्ति परिचालन गरी नौ हजार ३६८ जनालाई मनोसामाजिक तथा मानसिक स्वास्थ्य परामर्श प्रदान गरिएको छ।
पौडेलका अनुसार परामर्शका लागि आएका केही व्यक्तिलाई सामान्य मनोसामाजिक सहयोगले मात्र नपुग्ने र औषधिसहितको उपचार आवश्यक देखिएको थियो।
झाडापखालासहित विभिन्न स्वास्थ्य समस्या देखिए:
सम्भावित संक्रामक रोगको पहिचान तथा नियन्त्रणका लागि प्रभावित क्षेत्रमा सात वटा स्वास्थ्य निगरानी टोली परिचालन गरिएको छ। ती टोलीले प्रारम्भिक चेतावनी तथा प्रतिकार्य प्रणाली र घटनामा आधारित रोग निगरानी प्रणालीमार्फत दैनिक स्वास्थ्य विवरण संकलन गरिरहेका छन्।
विभागका अनुसार हालसम्म ४४८ जनामा रुघाखोकीलगायतका लक्षण र ३०१ जनामा ज्वरो देखिएको थियो। उनीहरूले उपचार पाइसकेको विभागले जनाएको छ।
त्यस्तै, ८७ जनामा झाडापखाला देखिएको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्क तथा निगरानीमा रहेको पौडेलले जानकारी दिए।
बाढी प्रभावित क्षेत्रमा दूषित खानेपानीका नमुना भेटिनु र झाडापखालाका बिरामी देखिनुले सरसफाइ तथा सुरक्षित खानेपानीको व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ।
विभागले हालसम्म प्रभावित क्षेत्रमा महामारी फैलिएको अवस्था पुष्टि नभएको जनाएको छ। यद्यपि दूषित पानी र विभिन्न रोगका लक्षण देखिएकाले सम्भावित संक्रमण रोकथाम, स्वास्थ्य निगरानी तथा उपचारका कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।