देश सङ्कटमा छ, वाम एकताका लागि सबै पूर्वाग्रह त्याग्नुस् : प्रचण्ड - Chaitanya News
  • 2026-11-03
  • 16:47:28
  • मंगलबार,कार्तिक १८, २०८३
  • देश सङ्कटमा छ, वाम एकताका लागि सबै पूर्वाग्रह त्याग्नुस् : प्रचण्ड

    देश सङ्कटमा छ, वाम एकताका लागि सबै पूर्वाग्रह त्याग्नुस् : प्रचण्ड

    काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका राजनीतिक एकता प्रयासबाट पाठ सिक्दै फेरि बृहत् वाम एकताको अभियानमा जुट्नुपर्ने बताएका छन्। देश गम्भीर सङ्कटमा रहेको उल्लेख गर्दै उनले कम्युनिस्ट नेताहरूलाई व्यक्तिगत आग्रह–पूर्वाग्रह त्यागेर एकताको प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन्।

    मङ्गलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले विगतमा सहकार्य गरेका सबै वामपन्थी नेताहरूलाई एकताको अभियानमा जोडिन आग्रह गरे। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, मोहनविक्रम सिंह, मोहन वैद्यलगायत नेताहरूलाई लक्षित गर्दै देशको वर्तमान अवस्था बुझेर एकताका लागि अघि बढ्नुपर्ने धारणा राखे।

    ‘म यहीँबाट कमरेड केपी ओली, मोहनविक्रम सिंह, मोहन वैद्यलगायत विगतमा सहकार्य गरेका सबै कमरेडहरूलाई आह्वान गर्न चाहन्छु– देश सङ्कटमा छ, त्यसैले सबैखाले आग्रह र पूर्वाग्रहबाट मुक्त भएर एकताको यो महाअभियानमा जुटौँ,’ उनले भने।

    प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने प्रयास आफूले शान्ति प्रक्रियामा प्रवेश गरेदेखि नै गर्दै आएको बताए। तत्कालीन नेकपा एमालेसँग पार्टी एकता गर्न पटक–पटक पहल गरेको स्मरण गर्दै उनले संविधान जारी भएपछि जनतामा कम्युनिस्टप्रति ठूलो अपेक्षा रहेको उल्लेख गरे।

    त्यही जनअपेक्षालाई सम्बोधन गर्न आफू पुनः एकताको प्रस्ताव लिएर एमाले अध्यक्ष ओलीकहाँ पुगेको उनले बताए। तत्कालीन परिस्थितिमा पार्टी एकता सहज नदेखिएपछि ओलीलाई प्रधानमन्त्री बनाएर अघि बढ्ने प्रस्तावसमेत गरेको उनको भनाइ थियो।

    ‘सजिलैसँग एकता नहुने देखेपछि मैले तपाईं नै प्रधानमन्त्री बन्नोस् भनेको थिएँ,’ विगतको राजनीतिक सहमति स्मरण गर्दै उनले भने।

    त्यसपछि तत्कालीन एमाले र माओवादीबीच चुनावी कार्यगत एकता गर्ने तथा निर्वाचनपछि पार्टी एकता गर्ने सहमति भएको थियो। उक्त सहकार्यपछि भएको निर्वाचनमा वाम गठबन्धनले झण्डै दुईतिहाइ जनमत प्राप्त गरेको प्रचण्डले स्मरण गरे।

    उनका अनुसार निर्वाचनबाट प्राप्त जनमत कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने मात्र नभई देशमा सुशासन कायम गर्ने र समाजवादको आधार तयार पार्ने महत्वपूर्ण अवसर थियो। तर, त्यो अवसरलाई सदुपयोग गर्न नसकिएको उनले स्वीकार गरे।

    विगतमा प्राप्त उपलब्धि जोगाउन नसकिएको भन्दै प्रचण्डले त्यसबाट निराश हुनुभन्दा कमजोरीको समीक्षा गर्नुपर्ने बताए। उनका अनुसार विगतका अनुभवलाई आत्मसात् गर्दै नयाँ आधारमा एकता र राजनीतिक ध्रुवीकरणको प्रक्रिया अघि बढाउन आवश्यक छ।

    विगतको एकता असफल भए पनि कम्युनिस्टहरूबीच सहकार्यको सम्भावना समाप्त नभएको उनको भनाइ थियो। देश र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्न सके फेरि बलियो कम्युनिस्ट शक्ति निर्माण गर्न सकिने सन्देश उनले दिएका छन्।

    प्रचण्डले अहिले भइरहेको पार्टी एकतालाई पनि बृहत् कम्युनिस्ट एकताको सुरुआतका रूपमा व्याख्या गरे। विगतका मतभेद र तिक्ततालाई पन्छाएर साझा उद्देश्यका साथ अघि बढ्न सके मात्रै मुलुकले सामना गरिरहेको चुनौतीको समाधानमा योगदान पुग्ने उनको धारणा थियो।