काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सका इमरान शेख र लोकेश बमले जनकपुर बोल्ट्सविरुद्ध शतकीय साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका छन्।
टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरका लागि इमरानले अर्धशतक पूरा गर्दा लोकेशसँग मिलेर शतकीय साझेदारी गरेका हुन्। जारी संस्करणमा यो पहिलो शतकीय साझेदारी हो।
वान डाउनमा ब्याटिङ गर्न आएका इमरानले ४० बलमा पाँच चौका र दुई छक्काको मद्दतमा ५३ रन बनाए। ओपनर शान जयासूर्या टिमको स्कोर दुई रन हुँदा आउट भएपछि क्रिजमा पुगेका उनले सुरुदेखि नै इनिङ्स सम्हाल्दै लोकेशसँग महत्वपूर्ण साझेदारी गरे।
एनपीएल इतिहासमा यो १४औँ शतकीय साझेदारी हो। प्रतियोगिताको पहिलो सिजनमा सात र दोस्रो सिजनमा ६ वटा शतकीय साझेदारी भएका थिए।
विराटनगरका लागि भने एनपीएलमा यो दोस्रो शतकीय साझेदारी हो। यसअघि दोस्रो सिजनमा लोकेश बम र मार्टिन गप्टिलले पोखरा एभेन्जर्सविरुद्ध दोस्रो विकेटका लागि १३२ रनको साझेदारी गरेका थिए। उक्त साझेदारी विराटनगरको एनपीएल इतिहासकै अहिलेसम्मको उच्च साझेदारी हो।
यद्यपि, एनपीएलमा सर्वाधिक साझेदारीको कीर्तिमान भने पोखरा एभेन्जर्सका आन्द्रे गौस र दिनेश खरेलको नाममा छ। उनीहरूले लुम्बिनीविरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए।
जनकपुरविरुद्ध इमरानको अर्धशतक र लोकेशसँगको शतकीय साझेदारीले विराटनगरको ब्याटिङमा महत्वपूर्ण योगदान दिएको छ।