काठमाडौं– समाचार कक्षभित्रै प्रवेश गरेर पत्रकारसँग सोधपुछ गरेको घटनाबारे सरकारले आफ्नो संलग्नता नरहेको दाबी गरेको छ। सरकारले प्रहरीको उक्त गतिविधि आन्तरिक सूचना चुहावटबारे अनुसन्धान गर्ने उद्देश्यले भएको र त्यसका लागि सरकारबाट अनुमति नदिइएको स्पष्ट पारेको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रहरीले आफ्नै आन्तरिक विषयमा बुझ्नका लागि सोधपुछ गरेको बताएका हुन्।
उनका अनुसार प्रहरीभित्रका सूचना बाहिरिएको विषयमा अनुसन्धान गर्ने क्रममा प्रकाशित समाचारको स्रोत र त्यसको आधारबारे बुझ्न प्रहरीले खोजेको हो।
‘प्रहरीको आन्तरिक कतिपय सूचना चुहावट भएको भन्ने विषयमा, उदाहरणका लागि प्रधानमन्त्रीले आईजीपीको राजीनामा माग्यो वा कारबाही गर्न लाग्यो भन्ने हुँदै नभएको भ्रामक सूचना कहाँबाट आयो, त्यसको तथ्यजाँच नगरी कसरी भयो भनेर प्रहरीले जाँचबुझ गर्नका लागि मात्रै कसैसँग सल्लाह गरेको भन्ने प्रहरीको आन्तरिक कुरा मात्रै हो,’ उनले भने।
प्रवक्ता पोखरेलले उक्त कार्य सरकार वा प्रधानमन्त्रीको पूर्ण अनुमतिमा नभएको दाबी गरे। प्रधानमन्त्रीलाई समेत यसबारे पूर्वजानकारी नरहेको उनको भनाइ छ।
‘सरकारसँग पूर्ण अनुमति लिएर वा के गरेर गरेको होइन । त्यसमा सरकार वा प्रधानमन्त्रीज्यूलाई केही थाहा थिएन । प्रहरीले आफ्नो आन्तरिक सूचना चुहावट भएको भएर सोधपुछका लागि गरेको हो,’ उनले भने।
उनले घटनाबारे जानकारी पाएलगत्तै प्रधानमन्त्रीले पत्रकारलाई सोधपुछका नाममा हिरासतमा नराख्न निर्देशन दिएको पनि बताए।
पत्रकारलाई गिरफ्तार वा नियन्त्रणमा लिइएको भन्ने विषय भने उनले अस्वीकार गरे।