काठमाडौँ– सामान्य किनमेलले पनि कसैको भाग्य चम्काउन सक्छ भन्ने उदाहरण बनेका छन् जनकपुरका एक उपभोक्ता । बिग मार्टबाट ४१५ रुपैयाँको सामान खरिद गरेका उनले सरकारको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन् ।
कात्तिक ५ गते बिग मार्टबाट ४१५ रुपैयाँको सामान खरिद गरेका जनकपुरका करदाता १० लाख रुपैयाँको पुरस्कारका लागि छनोट भएका हुन् । उनको करदाता नम्बर ०९८०४६५५८१७५ रहेको छ ।
अर्थ मन्त्रालयमा सोमबार आयोजित ‘कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम’ अन्तर्गत गरिएको लक्की ड्रबाट उनी बम्पर पुरस्कार विजेता घोषित भएका हुन् ।
पुरस्कार विजेता उपभोक्तालाई आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले फोनमार्फत बधाई दिएका थिए ।
सरकारले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मको अवधिका लागि पुरस्कार घोषणा गरेको हो । कार्यक्रमअनुसार पाक्षिक रूपमा १५ जनालाई जनही १ लाख ३३ हजार ३४ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने प्रत्येक पाक्षिक अवधिमा एक जनालाई १० लाख रुपैयाँको बम्पर उपहार दिने व्यवस्था गरिएको छ ।
अर्थ मन्त्रालयमा आयोजित पुरस्कार घोषणा कार्यक्रममा क्रिकेट खेलाडी ललितनारायण राजवंशीसमेत उपस्थित थिए ।