काठमाडौँ– नेपाल राष्ट्र बैंकले वित्तीय प्रविधि (फिनटेक) क्षेत्रको विकास र विस्तारका लागि नयाँ रणनीतिक पहल अघि बढाएको छ । डिजिटल वित्तीय सेवालाई थप प्रभावकारी बनाउँदै नवीन प्रविधिमा आधारित सेवा तथा व्यावसायिक मोडेल विकास गर्न बैंकले नियामकीय व्यवस्था सुदृढ पार्नुका साथै नवप्रवर्तनमैत्री वातावरण निर्माण गरिरहेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले फिनटेक क्षेत्रको विकासका लागि आवश्यक नीतिगत तथा सुपरिवेक्षकीय व्यवस्था मिलाउँदै आएको बताएका छन् । सोमबार राष्ट्र बैंकमा आयोजित कार्यक्रममा उनले वित्तीय प्रविधिको विकासले परम्परागत बैंकिङ तथा वित्तीय सेवा प्रवाहको शैली परिवर्तन गरिरहेको उल्लेख गरे ।
उनका अनुसार कृत्रिम बौद्धिकता, डिजिटल प्लेटफर्म, क्लाउड कम्प्युटिङ र डेटा एनालिटिक्सजस्ता प्रविधिको प्रयोगले वित्तीय सेवाको पहुँच, गुणस्तर, लागत र प्रभावकारितामा परिवर्तन ल्याउनेछ । यस्ता प्रविधिले वित्तीय समावेशिता बढाउनुका साथै वित्तीय क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता र समग्र आर्थिक विकासमा समेत योगदान पुर्याउने उनको विश्वास छ ।
गभर्नर पौडेलले नेपालको डिजिटल वित्तीय सेवाको यात्रा विद्युतीय कार्ड, एटीएम र एसएमएस बैंकिङबाट सुरु भएर अहिले मोबाइल बैंकिङ, डिजिटल वालेट, क्यूआर कोड तथा अन्य नवीन भुक्तानी प्रणालीसम्म विस्तार भएको बताए । राष्ट्र बैंकले पछिल्लो समय भुक्तानी प्रणालीमा मात्र नभई समग्र वित्तीय सेवाको रूपान्तरणमा सहयोग पुग्ने फिनटेक नवप्रवर्तनलाई प्राथमिकता दिएको उनको भनाइ छ ।
यसका लागि राष्ट्र बैंकले भुक्तानी प्रणाली विभागअन्तर्गत डिजिटल फाइनान्स इनोभेसन हब स्थापना, रेगुलेटरी स्यान्डबक्स कार्यान्वयन तथा सन् २०२६/२७ देखि २०३०/३१ सम्मका लागि फिनटेक रणनीति तर्जुमा र कार्यान्वयन अघि बढाएको छ ।
यी कार्यक्रमले बैंक तथा वित्तीय संस्थामा नयाँ प्रविधिको प्रयोग, नवीन वित्तीय सेवा र व्यावसायिक मोडेलको विकास तथा प्रविधिमा आधारित नवप्रवर्तक र वित्तीय सेवा प्रदायकबीचको सहकार्य विस्तार गर्ने पौडेलले बताए ।
उनले फिनटेक क्षेत्रको दिगो विकासका लागि राष्ट्र बैंकको प्रयास मात्रै पर्याप्त नहुने उल्लेख गर्दै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, विप्रेषण कम्पनी, प्रविधि कम्पनी, नवप्रवर्तक र सरकारी निकायबीच निरन्तर समन्वय तथा सहकार्य आवश्यक रहेको बताए ।
राष्ट्र बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँगको सहकार्यमा वित्तीय सेवाको विकास, फिनटेक नवप्रवर्तन र संस्थागत क्षमता अभिवृद्धिका क्षेत्रमा समेत काम गरिरहेको छ । आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँगको साझेदारी विस्तार गर्दै वित्तीय प्रविधिको विकासलाई थप गति दिने सम्भावना रहेको गभर्नर पौडेलले बताए।