धनगढीः केही वर्षअघिसम्म धनगढीका सडक, बजार र खेतबारीमा छाडा चौपायाको हुल देखिन्थ्यो। दूध दिन छाडेपछि वा बूढो भएपछि गाईवस्तु जथाभावी छाडिदिने प्रवृत्तिले सडक दुर्घटनाको जोखिम बढाएको थियो भने किसानलाई बालीनाली जोगाउन हम्मेहम्मे पर्ने गरेको थियो। तर, पछिल्लो समय धनगढीमा यो समस्या केही हदसम्म घटेको छ।
धनगढी उपमहानगरपालिकाले समुदायको सहभागितामा विभिन्न स्थानमा गौशाला निर्माण गरी सञ्चालनमा ल्याएपछि सडक र बजार क्षेत्रमा छाडा चौपायाको चाप कम भएको हो। उपमहानगरपालिकाले वडा नम्बर ३ को विशालनगर, ७ को देवहरिया, १६ को बेहडाबाबा र १८ को फूलबारी ई गाउँमा गरी चारवटा गौशाला सञ्चालनमा ल्याएको छ। तीमध्ये तीनवटा उपमहानगरपालिका र एउटा धार्मिक संस्थामार्फत सञ्चालन भइरहेका छन्।
उपमहानगरपालिकाका अनुसार चारवटै गौशालामा अहिले करिब एक हजार २०० गाईवस्तु राखिएका छन्। गौशाला सञ्चालनमा स्थानीय तहको बजेटसँगै समुदायको प्रत्यक्ष सहभागिता पनि जोडिएको छ। स्थानीयले घाँस, पराल, भुसलगायत पशु आहारा सहयोग गर्ने गरेका छन्। कतिपयले जन्मदिन तथा अन्य अवसरमा गाईवस्तुलाई आहारा दान गर्ने गरेका छन्।
यसले गौशालाको नियमित खर्च व्यवस्थापनमा समुदायको अपनत्व र सहभागिता बढाएको छ।
बाली जोगाउन रातभर बस्नुपर्ने बाध्यता हट्यो
धनगढी उपमहानगरपालिका–१८, ई गाउँका सोमनाथ खतिवडाले चार वर्षअघिसम्म खेतबारीमा लगाएको बाली छाडा चौपायाबाट जोगाउन निकै कठिन हुने गरेको बताए। चौपायाको हुल खेतमा पस्ने भएकाले किसानले रातदिन बाली कुर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
‘बाली जोगाउन रातदिन हेरालु बस्नुपर्थ्यो। एकैछिन छोड्दा पनि हुलका हुल आउने पशुचौपायाले बाली खाइदिन्थे,’ खतिवडाले भने, ‘अहिले गाउँनजिकै गौशाला बनेपछि छाडा चौपायाबाट बालीमा हुने हानिनोक्सानी रोकिएको छ।’
स्थानीय समुदायको समेत सहभागितामा उपमहानगरपालिकाले वनको छेउमा ‘हाम्रो गौशाला’ निर्माण गरी सञ्चालनमा ल्याएको हो। उक्त गौशालामा अहिले ३६० चौपाया राखिएका छन्। यहाँ ५० चौपायाबराबर एकजना हेरालु खटाइएको छ भने वनको निश्चित क्षेत्रलाई चौपायाको चरिचरनका लागि प्रयोग गरिएको छ।
गौशालामा पशु आहाराको व्यवस्थापनमा पनि स्थानीयले सहयोग गर्दै आएका छन्। पराल, भुसलगायत सामग्री स्थानीयबाटै सहयोग जुट्ने गरेको गौशाला व्यवस्थापन समितिले जनाएको छ।
‘पराल, भुसलगायत आहारा स्थानीयले सहयोग गरिरहेका छन्। कतिपयले आफ्नो जन्मदिनलगायत अवसरमा पशुलाई आहारा दान गर्छन्। केही आहारा भने खरिद पनि गर्छौँ,’ हाम्रो गौशाला व्यवस्थापन समितिका अध्यक्ष यादव भण्डारीले भने।
छाडा चौपायाका कारण विगतमा स्थानीय आफैँ समस्यामा परेकाले गौशाला सञ्चालनमा समुदायको सहभागिता बढेको उनले बताए।
पालिकाको बजेटसँगै समुदायको सहयोग
धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा गौशाला सञ्चालन तथा व्यवस्थापनका लागि ३४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त रकम हेरालुको तलब, पशु आहारा खरिद तथा अन्य व्यवस्थापकीय काममा खर्च हुने पशु शाखा प्रमुख डा. समीरकुमार ठाकुरले बताए।
उपमहानगरपालिकाले सञ्चालन गरेका गौशालामा ५० गाईवस्तुबराबर एकजना हेरालु राख्ने व्यवस्था गरिएको छ। गौशाला सञ्चालनमा आएपछि सडक तथा खेतबारीमा छाडा चौपायाबाट हुने समस्या न्यूनीकरण भएको ठाकुरको भनाइ छ।
यद्यपि, गौशाला सञ्चालनका लागि पालिकाको बजेट मात्रै निर्भर हुनुपरेको छैन। स्थानीय समुदायले नियमित रूपमा घाँस, पराल, भुसलगायत आहारा सहयोग गर्दै आएका छन्। यसले गौशालाको खर्च व्यवस्थापनमा पालिकालाई समेत सहज भएको छ।
दूध र गोबरबाट आम्दानी
धनगढी–१६ को बेहडाबाबा र वडा नम्बर १८ को फूलबारी ई गाउँमा रहेका गौशालाले छाडा चौपाया व्यवस्थापनसँगै आम्दानीको स्रोतसमेत विकास गर्न थालेका छन्। यी दुई गौशालाले दूध र गोबर बिक्री गरेर आम्दानी गर्न थालेका हुन्।
फूलबारीस्थित हाम्रो गौशालाले अहिले दैनिक करिब १३ लिटर दूध बिक्री गर्दै आएको छ। त्यस्तै, गोबर बिक्रीबाट वार्षिक दुई लाखदेखि साढे दुई लाख रुपैयाँसम्म आम्दानी हुने गरेको गौशाला व्यवस्थापन समितिका अध्यक्ष यादव भण्डारीले बताए।
उपमहानगरपालिकाका पशु शाखा प्रमुख ठाकुरका अनुसार बेहडाबाबामा रहेको गौशालाले पनि दूध र गोबर बिक्रीबाट आम्दानी गरिरहेको छ। उपमहानगरपालिकाले यी दुवै गौशालालाई गोबरबाट मल उत्पादन गर्ने विद्युतीय मेसिनसमेत उपलब्ध गराएको छ। गौशालामा उत्पादन हुने गोबर मल स्थानीय किसानले खरिद गर्ने गरेका छन्।
‘धेरै ठूलो नभए पनि थोरैथोरै आम्दानी हुन थालेको छ। गौशालाको खर्च व्यवस्थापन हुने गरी आम्दानीको स्रोत बनाउन खोजेका छौँ,’ ठाकुरले भने।
गौशालाबाट हुने आम्दानी पशु आहारा खरिदलगायत व्यवस्थापकीय काममा खर्च गर्ने गरिएको छ। हाम्रो गौशाला व्यवस्थापन समितिका सचिव कल्पना देवकोटाका अनुसार उपमहानगरपालिकाले हेरालुलाई मासिक १० हजार रुपैयाँ तलब दिने गरेकोमा दूध तथा गोबर बिक्रीबाट भएको आम्दानीबाट थप पाँच हजार रुपैयाँ उपलब्ध गराउने गरिएको छ।
गौशालामा गाईको कृत्रिम गर्भाधान तथा नस्ल सुधारको कामसमेत हुने गरेको छ। यसले छाडा चौपाया व्यवस्थापनसँगै पशुपालनको उत्पादन क्षमता सुधार गर्ने प्रयासलाई पनि जोडेको छ।
अशक्त चौपायाका लागि छुट्टै व्यवस्था
धनगढी उपमहानगरपालिका–७ मा रहेको गौशालामा भने विशेषगरी अशक्त चौपायालाई राख्ने गरिएको छ। सडकमा छाडिएका बिरामी, कमजोर तथा अशक्त चौपायाको छुट्टै व्यवस्थापन गर्न यो गौशालाले सहयोग पुर्याएको उपमहानगरपालिकाले जनाएको छ।
यसरी धनगढीमा गौशाला निर्माण गरेर सबै चौपायालाई एउटै ठाउँमा राख्नेभन्दा पनि तिनको अवस्था र व्यवस्थापनको आवश्यकताअनुसार फरक–फरक व्यवस्था गर्ने प्रयास गरिएको छ।
कैलाली–कञ्चनपुरका पालिकाको साझा समस्या
छाडा पशुचौपाया व्यवस्थापन कैलाली र कञ्चनपुरका अधिकांश स्थानीय तहका लागि साझा चुनौती बनेको छ। राजमार्गमा छाडा चौपायाका कारण सवारी दुर्घटनाको जोखिम बढिरहेको छ भने ग्रामीण क्षेत्रमा किसानले बालीनाली जोगाउन समस्या भोग्दै आएका छन्।
स्थानीय तहहरूले छाडा चौपाया व्यवस्थापनका लागि हरेक वर्ष ठूलो रकम खर्च गर्दै आए पनि अधिकांश पालिकामा समस्या यथावत् छ। एउटा पालिकाले व्यवस्थापन गरेका चौपाया अर्को पालिकाबाट ल्याएर छाड्ने प्रवृत्तिले समस्या थप जटिल बनाउने गरेको छ।
धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकलाकुमारी रानाले छाडा चौपायाका कारण बालीनालीमा ठूलो क्षति हुन थालेपछि समुदायको सहभागितामा गौशाला सञ्चालन गरी व्यवस्थापनको प्रयास गरिएको बताइन्। तर, धनगढी उपमहानगरपालिकाको एकल प्रयासले मात्रै यो समस्या दीर्घकालीन रूपमा समाधान नहुने उनको भनाइ छ।
‘अन्य पालिकाबाट पनि यहाँ छाडा चौपाया आउँछन्। जथाभावी चौपाया छोड्न नदिने र सबै पालिकाले व्यवस्थित रूपमा गौशाला सञ्चालन गर्ने हो भने छाडा चौपायाको समस्या कम हुन्छ,’ उनले भनिन्।
धनगढीको अनुभवले छाडा चौपाया व्यवस्थापनमा स्थानीय तहको बजेटसँगै समुदायको सहभागिता र आम्दानीका वैकल्पिक स्रोतको विकास पनि महत्त्वपूर्ण हुने देखाएको छ। तर, कैलाली र कञ्चनपुरका सबै पालिकाबीच समन्वय र साझा व्यवस्थापन प्रणाली नबनाएसम्म यो समस्या पूर्ण रूपमा समाधान गर्न कठिन देखिन्छ।