सरकारी समर्थन मूल्यभन्दा ९१० रुपैयाँ सस्तोमा धान बेच्न बाध्य कैलालीका किसान - Chaitanya News
  • 2026-11-02
  • 12:17:59
  • सोमबार,कार्तिक १७, २०८३
  • सरकारी समर्थन मूल्यभन्दा ९१० रुपैयाँ सस्तोमा धान बेच्न बाध्य कैलालीका किसान

    सरकारी समर्थन मूल्यभन्दा ९१० रुपैयाँ सस्तोमा धान बेच्न बाध्य कैलालीका किसान

    धनगढीः सरकारले यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ निर्धारण गरे पनि कैलालीका किसानले त्यसको कार्यान्वयन नहुँदा सस्तोमा धान बिक्री गर्न बाध्य भएका छन्। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समयमै धान खरिद सुरु नगर्दा किसानले तोकिएको मूल्यभन्दा प्रतिक्विन्टल ९१० रुपैयाँसम्म कममा धान बेचिरहेका छन्।

    धनगढी उपमहानगरपालिका–१०, घुइयाघाटका रामकिसन रानाले बुधबार साढे १५ क्विन्टल मोटा धान प्रतिक्विन्टल २ हजार ७५० रुपैयाँका दरले गल्ला व्यापारीलाई बिक्री गरे। सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा प्रतिक्विन्टल ९१० रुपैयाँ कममा धान बिक्री गर्नुपरेको उनले बताए।

    अधियाँमा डेढ बिघा जमिनमा धान खेती गरेका रानालाई हिउँदे बाली लगाउन आवश्यक मल, बीउ खरिद गर्नुका साथै घर खर्चको जोहो गर्नुपर्ने बाध्यता छ। त्यसैले खाद्यले धान खरिद सुरु गर्दासम्म पर्खिन नसकेको उनको भनाइ छ।

    ‘केही समय पर्खिएको भए बढी मूल्य पाइन्थ्यो। तर, गहुँ बालीका लागि अहिले नै मल, बीउ किन्नुपर्छ। घर खर्च पनि चाहिएको थियो,’ धनगढी–८ स्थित गल्लामा धान बिक्री गरिरहेका रानाले भने, ‘मिहिनेत र लगानीअनुसार धानबाट फाइदा भएन।’

    रानाको समस्या कैलालीका धेरै किसानको साझा समस्या हो। धान उत्पादनको भण्डार मानिने कैलालीमा अहिले मोटा धान प्रतिक्विन्टल न्यूनतम २ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। खाद्यले समयमै खरिद प्रक्रिया सुरु नगर्दा सरकारले तोकेको समर्थन मूल्य किसानका लागि कागजमै सीमित भएको छ। यसले धानको मूल्य निर्धारणमा गल्ला व्यापारी र बिचौलियाको प्रभाव बढाएको किसानको गुनासो छ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हरेक वर्ष कैलालीका विभिन्न स्थानमा खरिद केन्द्र स्थापना गरी निश्चित कोटामा किसानबाट धान खरिद गर्दै आएको छ। कम्पनीले खरिद सुरु गरेपछि प्रतिस्पर्धाका कारण गल्ला व्यापारीले समेत धानको मूल्य बढाउने गरेका छन्। तर, सरकारी खरिद ढिला हुँदा किसानले त्यसको लाभ लिन पाउँदैनन्।

    धनगढीका अर्का किसान हरेन्द्र थारूले पनि विगतका वर्षमा जस्तै यस वर्ष धान भित्र्याउने समयमा सरकारी समर्थन मूल्य कार्यान्वयन हुन नसकेको बताए। सरकारले धानको गुणस्तर र मूल्य निर्धारण गरेपछि त्यसको प्रभावकारी कार्यान्वयनसमेत गर्नुपर्ने उनको माग छ।

    धान भण्डारण गर्ने पर्याप्त व्यवस्था नहुनु, चाडपर्व मनाउनुपर्ने र हिउँदे बालीका लागि आवश्यक खर्च जुटाउनुपर्ने बाध्यताले किसानले खाद्यले खरिद सुरु गर्नुअघि नै व्यापारीलाई सस्तोमा धान बिक्री गर्ने गरेको थारूले बताए।

    ‘सरकारले मूल्य मात्र तोक्छ। समयमा खरिद नगर्दा हामीले त्यो मूल्य पाउँदैनौँ,’ उनले भने, ‘बाली लगाउन पनि सजिलो छैन। मल खोज्नै सास्ती हुन्छ।’

    यता गल्ला व्यापारीले भने भर्खरै थ्रेसिङ गरिएको धानमा चिस्यान बढी हुने र गुणस्तरसमेत कमजोर हुने भएकाले मूल्य कम भएको तर्क गरेका छन्। धनगढीका एक गल्ला व्यापारीका अनुसार खेतबाट भित्र्याउनेबित्तिकै ल्याइएको धान राम्ररी नसुकेको हुने, त्यसमा माटोको धुलो, फोहोर र चामल नहुने खोस्टा तथा अन्य वस्तु मिसिएका हुन्छन्।

    ‘थ्रेसिङ गरेर सिधै ल्याएको धान राम्ररी सुकेको हुँदैन। चिस्यान बढी हुन्छ। माटोको धुलो, फोहोर र चामल नभएको धान मिसिएको हुने भएकाले सरकारले तोकेको मूल्यमा खरिद गर्दा घाटा हुन्छ,’ ती व्यापारीले भने, ‘किसानले केही समय पर्खेर धान राम्ररी सुकाएर सफा गरी ल्याए हामी पनि सरकारले तोकेकै मूल्य दिन्छौँ।’
    तिहारपछि मात्रै धान खरिद गर्ने तयारी
    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा यस वर्ष ३० हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरेको छ। कम्पनीको प्रादेशिक कार्यालय धनगढीका प्रमुख दीपक थापाका अनुसार केन्द्रबाट शुक्रबार उक्त परिमाणको कोटा निर्धारण भएको हो।

    तर, जिल्ला दररेट समितिको बैठक बस्न बाँकी रहेको र चाडपर्व नजिकिएकाले तिहारपछि मात्रै धान खरिद प्रक्रिया अघि बढ्ने सम्भावना रहेको उनले बताए। यसअघि प्रादेशिक कार्यालयले कैलालीमा ६० हजार क्विन्टल धान खरिद गर्न केन्द्रमा प्रस्ताव पठाएको थियो।

    गत वर्ष कैलालीमा कात्तिक ११ गतेदेखि धान खरिद सुरु गरिएको थियो। यस वर्ष दसैँ ढिला पर्नु र वर्षाका कारण किसानले धान भित्र्याउन ढिलाइ गर्नुले पनि खरिद प्रक्रिया प्रभावित भएको थापाको भनाइ छ।

    खाद्यले खरिद गर्ने धानका लागि निश्चित गुणस्तर निर्धारण गरेको हुन्छ। धानमा चिस्यान तथा फोहोर हुनु हुँदैन भने अन्य वस्तु मिसिएको वा नकाटिएको हुनुपर्ने मापदण्ड छ। खेतबाट भर्खरै भित्र्याइएको धानमा निर्धारित गुणस्तर नपुग्ने भएकाले खरिद सुरु गर्न केही ढिलाइ हुने गरेको कम्पनीका कर्मचारी बताउँछन्।

    खरिद सुरु भएपछि भने खाद्यका केन्द्रमा धान बिक्री गर्ने किसानको भिड लाग्ने गरेको छ। गत वर्ष टीकापुर, सत्ती र मोहनपुरलगायत खरिद केन्द्रमा धान बिक्री गर्न किसानले तीनदेखि चार दिनसम्म पालो कुर्नुपरेको थियो। त्यस वर्ष कम्पनीले कैलालीमा ६ वटा खरिद केन्द्र सञ्चालनमा ल्याएको थियो।

    कम्पनीले गत वर्ष कैलालीका लागि ३५ हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरेको थियो। तर, किसानको चाप बढेपछि निर्धारित कोटाभन्दा बढी ३८ हजार ९४९ क्विन्टल धान खरिद गरिएको प्रादेशिक प्रमुख थापाले जानकारी दिए।

    खाद्यले कैलालीबाट खरिद गरेको धान कुटाएर सुदूरपश्चिमका पहाडी जिल्लासँगै कर्णालीका विभिन्न जिल्लामा चामल पठाउने गरेको छ।

    कृषि ज्ञान केन्द्र कैलालीका अनुसार जिल्लामा करिब ६३ हजार ५०० हेक्टर जमिनमा धान खेती हुने गरेको छ। यहाँ धानको उत्पादकत्व प्रतिहेक्टर ४.७ टन रहेको छ।