काठमाडौँ– अन्तर्राष्ट्रिय जलवायु वित्तमा नेपालको पहुँच विस्तार तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच छलफल भएको छ।
दुई मन्त्रीबीच भएको भेटवार्तामा जलवायु वित्त परिचालन, हरित जलवायु कोष, अनुकूलन कोष र कार्बन वित्तका विषयले प्राथमिकता पाएका छन्। साथै आगामी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) को तयारीबारे पनि छलफल भएको छ।
नेपालले अन्तर्राष्ट्रिय जलवायु वित्तमा आफ्नो पहुँच बढाउने, जलवायु अनुकूलनका कार्यक्रमलाई प्रभावकारी बनाउने तथा जलवायु परिवर्तनबाट हुने हानि र नोक्सानीसम्बन्धी कार्यक्रमलाई अघि बढाउने विषयमा दुवै मन्त्रीबीच विचारविमर्श भएको हो।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायुसम्बन्धी प्राथमिकता सशक्त रूपमा प्रस्तुत गर्न आवश्यक तयारी र रणनीतिबारे पनि छलफल गरिएको छ।
भेटवार्तामा जलवायु वित्त परिचालनका लागि कृषि तथा अर्थ मन्त्रालयबीच समन्वय र सहकार्य बढाउने विषयमा जोड दिइएको थियो। जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रम कार्यान्वयन गर्न आवश्यक स्रोतको व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयसमेत छलफलमा उठेको छ।