किसानको धानबालीलाई असर नपरोस् भनेर निर्माणका काम सारियो - Chaitanya News
  • 2026-11-02
  • 17:19:45
  • सोमबार,कार्तिक १७, २०८३
  • किसानको धानबालीलाई असर नपरोस् भनेर निर्माणका काम सारियो

    किसानको धानबालीलाई असर नपरोस् भनेर निर्माणका काम सारियो

    काठमाडौं– धानखेतीको समयमा किसानलाई सिँचाइका लागि पानीको अभाव हुन नदिन सरकारले प्रमुख नहर प्रणाली सञ्चालनलाई प्राथमिकता दिएको छ। किसानको बालीमा असर नपरोस् भन्ने उद्देश्यले सिँचाइ आयोजनाका निर्माण तथा सुधारका काम भने धानबाली भित्र्याएपछि गर्ने गरी व्यवस्थापन गरिएको छ।

    जलस्रोत तथा सिँचाइ विभागका अनुसार धानखेतीको मुख्य समयमा पानी आपूर्ति नियमित राख्न सुनसरी–मोरङ, कमला, भेरी करिडोर र बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाअन्तर्गतका नहर सञ्चालनमा राखिएका छन्।

    विभागका महानिर्देशक दिनेश रजौरियाले किसानलाई आवश्यक समयमा पानी उपलब्ध गराउने उद्देश्यले निर्माण कार्यको समयतालिका मिलाइएको जानकारी दिए। उनका अनुसार बाली उत्पादनको समयमा नहरमा अवरोध नहोस् भनेर निर्माणसम्बन्धी काम बाली भित्र्याएपछि अघि बढाइनेछ।

    विभागले सुनसरी–मोरङ सिँचाइ आयोजनामार्फत ६८ हजार हेक्टर क्षेत्रमा सिँचाइ सेवा उपलब्ध गराउँदै आएको छ। यसमध्ये ५५ हजार हेक्टरमा सतह सिँचाइ सुविधा पुगेको छ। त्यस्तै, राजापुर सिँचाइ व्यवस्थापन कार्यालयमार्फत १४ हजार १३८ हेक्टर क्षेत्रमा सिँचाइ सेवा उपलब्ध भइरहेको छ।

    विद्यमान सिँचाइ प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुका साथै नयाँ क्षेत्रमा पनि सिँचाइ सुविधा विस्तार भइरहेको विभागले जनाएको छ। रजौरियाका अनुसार कास्कीको पोखरा क्षेत्रमा ३५ हेक्टर, भेरी करिडोरमा १० हेक्टर र विराटनगर क्षेत्रमा ३ हेक्टर नयाँ जमिनमा सिँचाइ सुविधा थपिएको छ।

    त्यसैगरी, सिक्टा र बबईलगायतका सिँचाइ आयोजनामार्फत भदौ मसान्तसम्म करिब २०० हेक्टर नयाँ क्षेत्रमा सिँचाइ सुविधा विस्तार गरिएको विभागको विवरणमा उल्लेख छ।

    विभागले धानखेतीको समयमा पानी आपूर्तिलाई निरन्तरता दिँदै सिँचाइ पूर्वाधार विस्तारका कामलाई पनि अघि बढाउने रणनीति अपनाएको छ। यसका लागि खेतीपातीको समय र निर्माण कार्यबीच तालमेल मिलाएर आयोजना सञ्चालन गरिने विभागको भनाइ छ।