काठमाडौंः सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका सातवटा मुख्य निर्णय सार्वजनिक गरेको छ ।
सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । उनका अनुसार बैठकले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आगामी सोमबारदेखि हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै, नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्ने प्रयोजनका लागि आदेश जारी गर्ने निर्णय पनि बैठकले गरेको छ ।
मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरूसमेत सार्वजनिक गरिएको छ ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयः-
–२०८३ मंसिर ६ र ७ गते सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।
–चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा र तत्कालीन आपत्कालीन उद्धार कार्यका लागि प्राप्त हुने २ मिलियन डलर नगद अनुदान सहायता स्वीकार गर्ने ।
–अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिट क्रिडिट फ्यासिलिटी अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलर बराबर निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
–नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने ।
–राष्ट्रिय जैविक विविधता, रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गर्ने ।
–ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्स २०८३ स्वीकृत गर्ने ।
–राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गर्ने ।