धनगढीः धनगढी क्रिकेट भनेपछि जुरुक्क उठ्ने सहर हो। यहाँ क्रिकेट केवल खेल होइन, भावना हो, पहिचान हो र पछिल्लो समय सहरलाई एकै ठाउँमा जोड्ने उत्सवसमेत बनेको छ। मैदानमा सुदूरपश्चिम रोयल्स उत्रिँदा धनगढीको माहोल बदलिन्छ। टेलिभिजन, मोबाइल र सार्वजनिक प्रदर्शन पर्दामा खेल हेर्दै समर्थकहरू एउटै स्वरमा आफ्नो टोलीलाई साथ दिन्छन्।
क्रिकेटप्रतिको यही लगाव अहिले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा फेरि देखिएको छ। सुदूरपश्चिम रोयल्स तेस्रो पटक फाइनलमा प्रवेश गरेपछि धनगढीमा खुसी, उत्साह र उपाधिको आशा झनै चुलिएको छ। दुई पटक फाइनल पुगे पनि उपविजेतामै चित्त बुझाएको टोली यसपटक उपाधि जितेर सुदूरपश्चिमेलीलाई ऐतिहासिक खुसी दिने विश्वास समर्थकहरूमा छ।
धनगढीमा क्रिकेटको माहोल एनपीएल चलिरहेका बेला मात्रै देखिने होइन। यो सहर लामो समयदेखि क्रिकेट गतिविधि, प्रतियोगिता र खेलाडी उत्पादनसँग जोडिँदै आएको छ। निर्माणाधीन फाप्ला क्रिकेट रंगशालाले क्रिकेटप्रतिको लगावलाई पूर्वाधारसँग जोड्ने अपेक्षा गरिएको छ। निजी क्षेत्रबाट क्रिकेट एकेडेमी सञ्चालन भइरहेका छन् भने केही विद्यालयले समेत क्रिकेट प्रशिक्षण र एकेडेमीलाई प्राथमिकता दिएका छन्। क्रिकेट सिक्ने, खेल्ने र प्रतियोगितामा सहभागी हुने वातावरण विस्तार हुँदै गएको छ।
धनगढी मात्रै होइन, महेन्द्रनगर र बैतडी पनि सुदूरपश्चिमका क्रिकेटका उर्वरभूमि हुन्। यस क्षेत्रको क्रिकेट मोह र समर्थकको संख्या राष्ट्रिय प्रतियोगिताहरूमा देखिने उपस्थितिले बारम्बार प्रमाणित हुँदै आएको छ। यो पटक एनपीएलमा सुदूरपश्चिमका ३० जना खेलाडी सहभागी छन्।
सुदूरपश्चिमेलीहरू क्रिकेट खेल्ने, बुझ्ने र माया गर्नेमा अगाडि छन्। काठमाडौंको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुदूरपश्चिमको खेल हुँदा देखिने समर्थकको बाक्लो उपस्थितिले टोलीप्रतिको माया र क्षेत्रीय अपनत्वलाई झल्काउँछ। मैदानमा पुग्न नसक्ने समर्थकहरू पनि आफ्नै ठाउँमा बसेर खेलको प्रत्येक रन, विकेट र नतिजासँग जोडिएका हुन्छन्।
रंगशालाबाहिर पनि रंगशालाकै जस्तो माहोल
सुदूरपश्चिम रोयल्सको खेल हुने दिन त्रिवि क्रिकेट मैदानमा मात्रै समर्थकको भीड लाग्दैन, धनगढी क्रिकेटमय बन्ने गरेको छ। विशेषगरी धनगढीको जेन्जी मार्गमा सुदूरपश्चिम रोयल्सको खेल हेर्न हजारौँ समर्थक जम्मा हुने दृश्यले धनगढीको क्रिकेटप्रतिको मोहलाई थप उजागर गरेको छ।
धनगढी उपमहानगरपालिकाले जेन्जी मार्गमा राखेको ठूलो एलईडी डिस्प्लेमा सुदूरपश्चिम रोयल्सका खेलहरू प्रत्यक्ष देखाउने व्यवस्था मिलाएको छ। काठमाडौं पुगेर रंगशालामा खेल हेर्न नसक्ने समर्थकका लागि यो व्यवस्था खेलसँग जोडिने साझा अवसर बनेको छ। घरमा टेलिभिजन नहुने, मोबाइलमा खेल हेर्न सहज पहुँच नहुने वा साथीभाइसँग सामूहिक रूपमा खेल हेर्न चाहनेहरूका लागि जेन्जी मार्गको डिस्प्ले बोर्ड आकर्षणको केन्द्र बनेको छ।
खेल हेर्न बालबालिका, युवा, वृद्धवृद्धा र परिवारसहितका दर्शक पुग्ने गरेका छन्। खेलको रोमाञ्चक क्षणमा हुटिङ, ताली र खुसीका आवाजले जेन्जी मार्गलाई खुला रंगशालाको स्वरूप दिन्छ। सुदूरपश्चिमले चौका वा छक्का प्रहार गर्दा होस्, विकेट लिँदा होस् वा जित नजिक पुग्दा, समर्थकहरूको उत्साह एकाएक चुलिन्छ।
पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि सुदूरपश्चिम रोयल्सले बिहीबार चितवन राइनोजसँग क्वालिफायर–२ खेल्दै फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गरेको थियो। उक्त खेल हेर्न जेन्जी मार्गमा अघिल्ला खेलको तुलनामा झनै ठूलो संख्यामा समर्थक उपस्थित भएका थिए। खेल सुरु हुनुअघि नै समर्थकहरू जम्मा भइसकेका थिए। धेरैको विश्वास एउटै थियो—सुदूरपश्चिमले जित्छ र फाइनल पुग्छ।
जेन्जी मार्गमा भेटिएका सन्देश विष्ट सुदूरपश्चिम रोयल्स फाइनल पुग्नेमा विश्वस्त थिए। उनीसँगै खेल हेरिरहेका मुकेश पन्त पनि टोलीले जित हासिल गर्नेमा ढुक्क देखिन्थे। उनीहरूजस्ता समर्थकका लागि सुदूरपश्चिम रोयल्सको खेल केवल क्रिकेट हेर्ने अवसर मात्र होइन, आफ्नो क्षेत्रको गौरव र पहिचानसँग जोडिएको विषय हो।
क्रिकेटको उत्साह बुझ्ने नेतृत्वको चर्चा
जेन्जी मार्गमा क्रिकेट हेर्न जम्मा भएको भीडले खेलप्रतिको उत्साह मात्रै देखाउँदैन, जनताको रुचि र भावनासँग जोडिने सार्वजनिक पहलको महत्व पनि उजागर गरेको छ। धनगढी उपमहानगरपालिकाले ठूलो पर्दामा खेल देखाउने व्यवस्था गरेपछि क्रिकेटप्रेमीहरू खुसी देखिएका छन्। नगर प्रमुख गोपाल हमालको यो पहलको समर्थकहरूले खुलेर प्रशंसा गरिरहेका छन्।
सन्तोष सेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको टिप्पणीमा गोपाल हमाललाई जनताको असल अभिभावकका रूपमा चित्रण गरेका छन्। उनका अनुसार जनप्रतिनिधिको जिम्मेवारी सडक, पुल, भवनलगायत विकास निर्माणमा मात्र सीमित हुँदैन, जनताको भावना, रुचि र खुसीलाई बुझेर त्यसलाई सम्बोधन गर्नु पनि नेतृत्वको महत्वपूर्ण पक्ष हो।
उनले एनपीएलजस्तो प्रतियोगितामा आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दै सुदूरपश्चिम रोयल्स मैदानमा उत्रिँदा सबै खेलप्रेमी काठमाडौं पुग्न सम्भव नहुने र सबैसँग टेलिभिजन वा मोबाइलबाट खेल हेर्ने सुविधा नहुने अवस्थालाई उल्लेख गरेका छन्। यही यथार्थ बुझेर ठूलो सार्वजनिक स्थलमा एलईडी स्क्रिनमार्फत खेल हेर्ने व्यवस्था गर्नु जनताको भावना बुझ्ने काम भएको उनको टिप्पणी छ।
‘विकास भनेको सडक, पुल र भवन मात्र होइन, जनताको मुहारमा खुसी ल्याउनु पनि विकासकै एउटा सुन्दर रूप हो,’ सेनाले आफ्नो टिप्पणीमा लेखेका छन्।
क्रिकेट हेर्न सार्वजनिक स्थलमा गरिएको व्यवस्थाले धनगढीका समर्थकलाई एउटै ठाउँमा जोडेको छ। यसले खेलकुदलाई मनोरञ्जनसँगै सामूहिक भावना, सामाजिक सम्बन्ध र स्थानीय पहिचानको माध्यम बनाएको छ।
दुई पटकको अधुरो सपना, तेस्रो पटक उपाधिको आशा
सुदूरपश्चिम रोयल्सको एनपीएल यात्रामा फाइनलसम्म पुग्नु नयाँ उपलब्धि होइन। टोली यसअघि पनि दुई पटक उपाधि नजिक पुगेर उपविजेतामा सीमित भएको थियो। त्यसैले तेस्रो पटक फाइनलमा प्रवेश गर्दा समर्थकहरूमा खुसीसँगै यसपटक उपाधि जित्ने तीव्र चाहना पनि देखिएको छ।
क्वालिफायर–२ मा चितवन राइनोजले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले सात विकेट गुमाएर एक बल बाँकी छँदै पूरा गर्यो। अन्तिम ओभरसम्म पुगेको रोमाञ्चक खेलमा जित निकाल्दै टोलीले फाइनलमा स्थान पक्का गर्यो। यो जितसँगै सुदूरपश्चिमले उपाधिका लागि पुरानै प्रतिस्पर्धी लुम्बिनी लायन्ससँगको भेट तय गरेको छ।
दुई पटक फाइनल खेलेर पनि ट्रफी हात पार्न नसकेको सुदूरपश्चिम यसपटक इतिहास बदल्ने लक्ष्यमा छ। टोली फाइनल पुगेपछि धनगढीमा खुसीको माहोल छ। जेन्जी मार्गमा खेल हेर्न पुगेका समर्थकदेखि घरघरमा खेल हेर्ने क्रिकेटप्रेमीसम्म सबैको अपेक्षा एउटै छ, यसपटक ट्रफी सुदूरपश्चिममै आओस्।
क्रिकेटको सहर, क्रिकेटको भविष्य
धनगढीमा क्रिकेटप्रतिको आकर्षण, नियमित प्रतियोगिता, क्रिकेट एकेडेमी, विद्यालयस्तरको अभ्यास र समर्थकको उत्साहले यस क्षेत्रको क्रिकेट भविष्य उज्ज्वल रहेको संकेत गर्छ। निर्माणाधीन क्रिकेट रंगशालाले आगामी दिनमा ठूला प्रतियोगिता आयोजना गर्ने सम्भावना बढाउनेछ। स्थानीय खेलाडीलाई अवसर, प्रशिक्षण र प्रतिस्पर्धाको वातावरण विस्तार गर्न सके धनगढी राष्ट्रिय क्रिकेटको महत्वपूर्ण केन्द्र बन्न सक्छ।
एनपीएलमा सुदूरपश्चिम रोयल्सको सफलताले नयाँ पुस्तालाई क्रिकेटतर्फ आकर्षित गरिरहेको छ। सार्वजनिक पर्दामा खेल हेर्न जम्मा हुने बालबालिकाले मैदानमा खेलाडी बनेर आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्ने सपना देख्न सक्छन्। आज हुटिङ गर्दै खेल हेर्ने बालक भोलि त्यही मैदानमा ब्याट र बल लिएर उत्रन सक्छ।
धनगढीमा क्रिकेटको क्रेज केवल भीडमा देखिने उत्साह मात्रै होइन यो खेलप्रतिको निरन्तरता, स्थानीय लगाव र भविष्यको सम्भावना हो। सुदूरपश्चिम रोयल्सको फाइनल यात्रा अहिले त्यो उत्साहको सबैभन्दा ठूलो केन्द्र बनेको छ। यो पटक रोयल्सले सुदूरपश्चिममा एनपिएलको ट्रफी भित्र्यओस् भन्ने कामना हरेक सुदूरपश्चिमेलीको छ।