काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लागेको निलम्बन फुकुवा गर्ने प्रक्रिया अघि बढ्ने संकेत देखिएको छ। यस विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का शीर्ष अधिकारीहरूसँग छलफल गरेका छन्।
बैंककमा आयोजित एएफसी अवार्ड्सका अवसरमा मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका हुन्।
भेटका क्रममा नेपाली फुटबलको वर्तमान अवस्था, एन्फाको कानुनी प्रक्रिया, तहगत निर्वाचन तथा एन्फामाथि लगाइएको निलम्बन फुकुवाका विषयमा छलफल भएको मन्त्री पोखरेलले जानकारी दिएका छन्।
मन्त्री पोखरेलका अनुसार एन्फाको निलम्बन फुकुवा गर्ने विषयमा फिफा र एएफसीका अधिकारीहरू सकारात्मक देखिएका छन्। एन्फाले पनि तहगत निर्वाचन गर्ने सहमति जनाएपछि निलम्बन हटाउने प्रक्रियाले गति लिएको उनको भनाइ छ।
यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फामाथि लगाएको प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा गरिसकेको छ। राखेपले प्रतिबन्ध हटाएसँगै अन्तर्राष्ट्रिय फुटबल निकायबाट लगाइएको निलम्बनसमेत फुकुवा हुने बाटो खुलेको हो।
मन्त्री पोखरेलसँगको छलफलमा फिफाले पनि एन्फामाथिको निलम्बन फुकुवा गर्ने विषयमा मौखिक सहमति जनाएको बताइएको छ। अब आवश्यक प्रशासनिक तथा कानुनी प्रक्रिया पूरा भएपछि निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
एन्फामाथिको निलम्बन हटेमा नेपाली फुटबलले अन्तर्राष्ट्रिय फुटबल गतिविधिमा सहज रूपमा सहभागिता जनाउने अवसर पाउनेछ। यसले नेपाली फुटबलको प्रशासनिक व्यवस्थापन र अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत सामान्य अवस्थामा फर्काउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मन्त्री पोखरेलले भेटका क्रममा फिफा तथा एएफसीका प्रतिनिधिहरूलाई उपहारसमेत प्रदान गरेका थिए।