पोखराको प्याराग्लाइडिङलाई नयाँ गन्तव्य र जनशक्ति - Chaitanya News
  • 2026-11-20
  • 08:42:11
  • शुक्रबार,मंसिर ०५, २०८३
  • पोखराको प्याराग्लाइडिङलाई नयाँ गन्तव्य र जनशक्ति

    पोखराको प्याराग्लाइडिङलाई नयाँ गन्तव्य र जनशक्ति

    कास्की– पोखरामा प्याराग्लाइडिङ व्यावसायिक उडान सुरु भएको करिब तीन दशकपछि दक्ष प्यारापाइलट उत्पादनका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा औपचारिक प्रशिक्षण स्कुल सञ्चालनमा आएको छ। यससँगै गण्डकी प्रदेशमा प्याराग्लाइडिङका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्ने नयाँ अवसर खुलेको छ।

    पोखराको साहसिक पर्यटनलाई थप विस्तार र व्यवस्थित गर्ने लक्ष्यसहित एरोडाइनामिक प्याराग्लाइडिङ प्रालिले गाउँपालिकासँगको सहकार्यमा रिभानस्थित मैँचेडाँडामा बिहीबारदेखि प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको हो। जिल्लामै पहिलोपटक स्थापना भएको यस स्कुलले प्याराग्लाइडिङ क्षेत्रमा दक्ष जनशक्तिको अभाव पूर्ति गर्ने अपेक्षा गरिएको छ।

    प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागी भएका विजय गौतम, विष्णु गौतम, किरण कार्की र अमृत अधिकारीको संयुक्त पहलमा एक करोड ५० लाख रुपैयाँ लगानी गरेर स्कुल स्थापना गरिएको हो। प्रशिक्षण केन्द्रका लागि थप पूर्वाधार निर्माण गर्न बाँकी रहेकाले लगानी बढ्ने सञ्चालकले बताएका छन्।

    स्कुलका सञ्चालक विजय गौतमका अनुसार समुद्री सतहबाट एक हजार ६८० मिटरको उचाइमा रहेको मैँचेडाँडाबाट उडान सुरु गरी मर्दीखोलाको किनारमा रहेको अनन्तठाँटीमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ। उडानस्थलबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलासहित पोखरा उपत्यका तथा लाहाचोक, ल्वाङ र अस्तामजस्ता पर्यटकीय क्षेत्रको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।

    गौतमले प्राकृतिक सुन्दरता, भौगोलिक बनावट र उडानका लागि उपयुक्त वातावरणका कारण रिभानलाई प्रशिक्षण केन्द्रका रूपमा छनोट गरिएको बताए। उनका अनुसार स्कुलले प्रारम्भिक १५ दिने तालिमसँगै इन्टरमिडियट, क्रस कन्ट्री तथा टेन्डमका टी–वान र टी–टु तहसम्मका प्रशिक्षण सञ्चालन गर्नेछ। एक सत्रमा छ जनालाई तालिम दिने व्यवस्था गरिएको छ।

    पोखरामा हाल ५४ वटा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन्। चार सय जनाले प्यारापाइलटको लाइसेन्स प्राप्त गरे पनि तीमध्ये करिब २५० जना मात्रै विभिन्न कम्पनीमा कार्यरत रहेको नेपाल हवाई खेलकुद संस्था (ना)का पूर्वअध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए।

    उनका अनुसार पोखरामा लामो समयदेखि प्याराग्लाइडिङ व्यावसायिक रूपमा सञ्चालन भए पनि पाइलट उत्पादन गर्ने औपचारिक प्रशिक्षण केन्द्रको अभाव थियो। नयाँ स्कुल सञ्चालनमा आएपछि नेपाली युवाले स्वदेशमै तालिम लिन पाउनेछन् भने विदेशी प्रशिक्षार्थीलाई समेत आकर्षित गर्न सकिने सम्भावना छ।

    भण्डारीले प्याराग्लाइडिङ व्यवसायलाई दिगो बनाउन निरन्तर दक्ष जनशक्ति उत्पादन आवश्यक रहेको बताए। हाल पोखराको सराङकोटबाट व्यावसायिक प्याराग्लाइडिङ उडान हुँदै आएको छ। रिभानमा प्रशिक्षण केन्द्र स्थापना हुनुले पोखराको प्याराग्लाइडिङ गतिविधिलाई नयाँ स्थानसम्म विस्तार गर्न सहयोग पुग्ने उनको विश्वास छ।

    गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले सराङकोटपछि रिभान पनि प्याराग्लाइडिङको आकर्षक गन्तव्यका रूपमा विकास हुन सक्ने बताए। उनका अनुसार यस क्षेत्रको विकासले पोखरामा केन्द्रित साहसिक पर्यटनलाई माछापुच्छ्रे गाउँपालिकासम्म विस्तार गर्न सहयोग पुर्‍याउनेछ। प्रदेश सरकारले आवश्यक पूर्वाधार निर्माणमा आगामी दिनमा पनि सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।

    माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले प्रशिक्षण केन्द्र सञ्चालनले स्थानीय पर्यटन प्रवर्द्धनसँगै रोजगारी र आर्थिक गतिविधि बढाउने अपेक्षा व्यक्त गरे। विगतमा पदयात्राका लागि परिचित रिभान पछिल्लो समय ओझेलमा परेको उल्लेख गर्दै उनले गाउँपालिकाले यस क्षेत्रको पर्यटन विकासलाई प्राथमिकता दिने बताए।

    वडाध्यक्ष नारायण पौडेलले रिभानमा साहसिक पर्यटनको पर्याप्त सम्भावना रहेको बताए। उनका अनुसार प्रदेश सरकारको सहयोगमा वडाको पहलमा सहिद पार्क निर्माण गरिएको छ। पर्यटकको बसाइ लम्ब्याउन ओदानेसम्मको पर्यटकीय मार्ग स्तरोन्नति गर्दै खुमैसम्म जोड्न आवश्यक रहेको उनले औँल्याए।

    प्याराग्लाइडिङ प्रशिक्षण, नयाँ उडानस्थलको विकास र ग्रामीण पर्यटनको विस्तारले समग्र गाउँपालिकालाई लाभ पुग्ने पौडेलको भनाइ छ। गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङले पनि पदयात्रासँगै साहसिक पर्यटनको सम्भावना बोकेको यस क्षेत्रमा पूर्वाधार विकासका लागि प्रदेश र सङ्घीय सरकारको थप सहयोग आवश्यक रहेको बताए।

    स्थानीय बासिन्दाले पनि स्कुल सञ्चालनलाई गाउँको आर्थिक तथा सामाजिक गतिविधि बढाउने अवसरका रूपमा लिएका छन्। स्थानीय समाजसेवी यामबहादुर गुरुङले पर्यटक आगमन बढ्नुका साथै रोजगारी र उद्यमशीलताका अवसर सिर्जना हुने विश्वास व्यक्त गरे। गाउँबाट बजार झरेका स्थानीयलाई समेत आफ्नै ठाउँमा फर्किएर व्यवसाय सञ्चालन गर्ने वातावरण बन्न सक्ने उनको भनाइ छ।

    उनका अनुसार पछिल्लो समय गाउँमा जनसङ्ख्या र आर्थिक गतिविधि घट्दै गएको अवस्थामा प्याराग्लाइडिङ स्कुल सञ्चालनले रिभानमा नयाँ सम्भावना थपेको छ।

    रिभानको मैँचेडाँडा पोखराबाट जीपमा करिब एक घण्टाको दूरीमा पर्छ। लाहाचोकको पातीखोलाबाट उकालो यात्रा गरेर पुगिने यस डाँडाबाट देखिने हिमाल, पहाड र पोखरा उपत्यकाको दृश्यले पर्यटकलाई आकर्षित गर्न सक्छ।

    दक्ष प्यारापाइलट उत्पादन गर्ने उद्देश्यले सुरु भएको यो पहल सफल भएमा रिभान प्रशिक्षण केन्द्रमा मात्रै सीमित नभई साहसिक पर्यटनको नयाँ गन्तव्यका रूपमा समेत स्थापित हुने अपेक्षा गरिएको छ।