काठमाडौँ– चार महिनादेखि क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आज ब्युँझने धार्मिक विश्वासका साथ देशभर हरिबोधिनी एकादशी मनाइँदैछ। कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको विशेष पूजा आराधना गरी भगवान् विष्णुको प्रतीक दामोदरसँग तुलसीको विधिपूर्वक विवाह गरिँदैछ।
वैदिक सनातन धर्मावलम्बीले ठूलो एकादशीका रूपमा समेत मनाउने यस पर्वलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले विशेष महत्त्वका साथ लिने गरेका छन्। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका विष्णु आज जाग्ने भएकाले यस दिनलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिएको हो।
हरिशयनी एकादशीदेखि आजसम्म चार महिना तुलसीको व्रत तथा विशेष पूजा गर्ने परम्परा छ। भगवान् विष्णु शयन गर्ने यस अवधिमा विवाह, व्रतबन्धलगायत शुभ तथा माङ्गलिक कार्य नगर्ने धार्मिक मान्यता छ। वर्षायाममा बाढीपहिरो तथा विभिन्न प्राकृतिक जोखिम हुने भएकाले यस अवधिमा लामो यात्रा नगर्नु पनि शुभ मानिँदै आएको छ।
हरिबोधिनी एकादशीका दिन घरघरमा रहेको तुलसीको मठलाई गाईको गोबर र रातो माटोले लिपपोत गरी फूलमालाले सजाइन्छ। त्यसपछि तुलसीसँग भगवान् विष्णुको विवाह गराउने धार्मिक विधि पूरा गरिन्छ। तुलसीलाई विष्णुप्रिया मानिने भएकाले भगवान् विष्णुसँग विवाह गराउने परम्परा रहेको हो। तुलसीको मठनजिक विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर पूजा गर्ने चलनसमेत छ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार कार्तिक महिनाभर सबै देवीदेवताको वास तुलसीमा रहने शास्त्रीय मान्यता छ। आदिकालदेखि पूजा गरिँदै आएको तुलसी धार्मिक आस्थाका साथै औषधीय गुणका कारण पनि महत्त्वपूर्ण वनस्पति मानिन्छ। तुलसीको मठ भएको घरलाई तीर्थ समान मान्ने धार्मिक विश्वास छ।
तुलसीको पात, डाँठ तथा फूलको रस परम्परागत रूपमा रुघाखोकी, ज्वरो तथा अन्य स्वास्थ्य समस्यामा प्रयोग हुँदै आएको छ। तुलसीको सुगन्ध र यसबाट प्राप्त हुने लाभका कारण घरआँगनमा यसको मठ बनाउने चलन बसेको हो। शरद ऋतुमा तुलसीलाई विशेष औषधीय महत्त्वको वनस्पतिका रूपमा लिने गरिन्छ।
कार्तिक महिनामा तुलसीको माला लगाउने र भगवान् विष्णुलाई तुलसीपत्र अर्पण गर्ने परम्परासमेत छ। धार्मिक मान्यताअनुसार यस महिनामा भगवान् विष्णुलाई एक लाख तुलसीपत्र चढाउँदा मनोकाङ्क्षा पूरा हुन्छ। धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार गरुड पुराणमा कार्तिक महिनामा एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरेसरह पुण्य प्राप्त हुने उल्लेख छ।
यस दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखेर यात्रा गराउने तथा राति शङ्ख, घण्ट र ढोल बजाएर भगवान्लाई जगाउने चलन छ। ‘गोविन्द उठ्नुस्, तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ’ भन्दै भगवान् विष्णुको आराधना गरिन्छ। चार महिनासम्म गरिएको उपासनापछि आज विशेष पूजा गरी व्रत समापन गर्ने धार्मिक परम्परा छ।
हरिबोधिनी एकादशीमा अन्न सेवन नगरी फलाहार गर्ने चलन छ। व्रतालुले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर खाने गर्छन्। किसानले उखुको बोट तुलसीको मठमा गाडेर पूजा गर्ने परम्परा पनि छ। यस दिन श्रद्धापूर्वक व्रत, पूजा र उपासना गरे पाप नाश भई पुण्य प्राप्त हुने तथा मोक्ष मिल्ने धार्मिक विश्वास छ। शास्त्रीय मान्यताअनुसार आजको व्रतले हजार अश्वमेध र राजसूय यज्ञ गरे बराबरको फल प्राप्त हुन्छ।
आज काठमाडौँ उपत्यकाका चार नारायणलगायत देशभरका विष्णु मन्दिरमा विशेष पूजा तथा मेला लाग्ने गर्छ। भक्तपुरको चाँगुनारायण, काठमाडौँको शेषनारायण, इचँगुनारायण र विशङ्खुनारायणमा भक्तजनको विशेष घुइँचो लाग्छ। यी स्थानमा पुग्न नसक्नेले बूढानीलकण्ठस्थित नारायणस्थानको दर्शन तथा पूजा गर्दा चार नारायणको दर्शन गरेसरह पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।
बूढानीलकण्ठ नारायणस्थानमा आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्ने मठाधीश स्वामी निगमानन्दले जानकारी दिए। बूढानीलकण्ठमा हरि अर्थात् विष्णु र हर अर्थात् शिव दुवैको मूर्ति एउटै विशाल शिलामा रहेकाले यस स्थानलाई धार्मिक तथा पर्यटकीय दृष्टिले विशिष्ट मानिन्छ। यहाँ प्रत्येक वर्ष लाखौँ भक्तजन तथा पर्यटक पुग्ने गरेका छन्।
आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म तुलसीको हवनका लागि साइत हेराउनु नपर्ने धार्मिक मान्यता रहेको छ। त्यसपछि भने हवनका लागि उपयुक्त साइत जुराएर तुलसी पूजाको उद्यापन गरिन्छ। यससँगै हरिशयनी एकादशीदेखि सुरु भएको चारमहिने तुलसी पूजा समापन हुने परम्परा छ।
धार्मिक आस्था, तुलसीको महत्त्व र भगवान् विष्णुको आराधनासँग जोडिएको हरिबोधिनी एकादशीले नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक परम्पराको निरन्तरतालाई समेत प्रतिबिम्बित गर्दै आएको छ।