काठमाडौँ– स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा सकिने भएपछि निर्वाचन आयोगले नयाँ निर्वाचनको तयारी अघि बढाएको छ। निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक पूर्वतयारीबारे राजनीतिक दलहरूको धारणा बुझ्न आयोगले आजदेखि परामर्श प्रक्रिया सुरु गर्न लागेको हो।
यसैक्रममा आयोगले आज राष्ट्रिय मान्यता प्राप्त छ राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्ने भएको छ। आयोगले बिहान ११ः३० बजेका लागि दलका नेताहरूलाई आमन्त्रण गरेको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्थानीय तहको निर्वाचनका विषयमा आवश्यक परामर्श गर्न राजनीतिक दलहरूलाई बोलाइएको जानकारी दिए। उनका अनुसार स्थानीय तथा प्रदेश तहको निर्वाचनसँग सम्बन्धित विषयमा दलहरूसँग छलफल गरिनेछ।
हाल प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्। आयोगले यी दलका प्रतिनिधिसँग निर्वाचनसम्बन्धी विषयमा सुझाव लिने तयारी गरेको हो।
स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा पूरा हुँदैछ। त्यसलाई मध्यनजर गर्दै आयोगले समयमै निर्वाचन सम्पन्न गर्न आवश्यक कानुनी, प्रशासनिक र प्राविधिक तयारीबारे गृहकार्य थालेको हो।
निर्वाचनको सम्भावित मिति, निर्वाचन व्यवस्थापन, आवश्यक स्रोतसाधन तथा पूर्वतयारीका विषयमा राजनीतिक दलहरूको सुझावलाई छलफलमा समेटिने आयोगले जनाएको छ।
राष्ट्रिय मान्यता प्राप्त दलहरूसँगको छलफलपछि आयोगले आफूमा दर्ता भएका अन्य राजनीतिक दलहरूसँग पनि परामर्श गर्ने कार्यक्रम बनाएको छ। यसरी विभिन्न दलसँगको छलफलबाट प्राप्त सुझावका आधारमा निर्वाचनको तयारीलाई थप व्यवस्थित बनाउने आयोगको योजना छ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा आयोगले सुरु गरेको यो परामर्शलाई निर्वाचन प्रक्रिया अघि बढाउने प्रारम्भिक कदमका रूपमा हेरिएको छ।