क्षेत्रीय भुक्तानी प्रणालीको नेतृत्व नेपाललाई, एसीयू अध्यक्ष बन्यो राष्ट्र बैंक - Chaitanya News
  • 2026-11-19
  • 16:47:06
  • बिहिबार,मंसिर ०४, २०८३
  • क्षेत्रीय भुक्तानी प्रणालीको नेतृत्व नेपाललाई, एसीयू अध्यक्ष बन्यो राष्ट्र बैंक

    क्षेत्रीय भुक्तानी प्रणालीको नेतृत्व नेपाललाई, एसीयू अध्यक्ष बन्यो राष्ट्र बैंक

    काठमाडौँ– एसियाली क्लियरिङ युनियन (एसीयू) को नेतृत्व अब नेपाल राष्ट्र बैंकले गर्ने भएको छ। सन् २०२६/२७ का लागि एसीयूको अध्यक्षता नेपालले पाएको हो।

    काठमाडौँमा नोभेम्बर १८ मा सम्पन्न एसीयू सञ्चालक समितिको ५४औँ बैठकले नेपाल राष्ट्र बैंकलाई एक वर्षका लागि अध्यक्षता हस्तान्तरण गर्ने निर्णय गरेको हो।

    बैठकले सन् २०२७/२८ का लागि म्यानमारको केन्द्रीय बैंकलाई अध्यक्ष र भारतीय रिजर्भ बैंकलाई उपाध्यक्ष चयन गरेको छ। साथै, सञ्चालक समितिको अर्को बैठक सन् २०२७ जुनमा म्यानमारको राजधानी नेपिडोमा आयोजना गर्ने निर्णय भएको छ।

    नेपाल राष्ट्र बैंकको आयोजनामा नोभेम्बर १७ मा स्थायी प्राविधिक समितिको बैठक र नोभेम्बर १८ मा सञ्चालक समितिको बैठक सम्पन्न भएको थियो। सञ्चालक समितिले प्राविधिक समितिबाट आएका सिफारिस अनुमोदन गर्नुका साथै एसीयू महासचिवालयले तयार पारेको सन् २०२४/२५ को प्रतिवेदनसमेत ग्रहण गरेको छ।

    बैठकमा सदस्य राष्ट्रबीचको अन्तरदेशीय भुक्तानी प्रणालीलाई आधुनिक बनाउने, नीतिगत सुधार गर्ने तथा डिजिटल अर्थतन्त्र र सीमापार क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ।

    बैठकमा भारतीय रिजर्भ बैंकका गभर्नरसहित सदस्य राष्ट्रका केन्द्रीय बैंकका उच्च अधिकारी, पर्यवेक्षक तथा एसीयू सचिवालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    सदस्य राष्ट्रबीच भुक्तानी प्रक्रियालाई सहज र व्यवस्थित बनाउने उद्देश्यले सन् १९७४ मा स्थापना भएको एसीयूको सचिवालय इरानको तेहरानमा रहेको छ। यस संस्थाले सदस्य राष्ट्रबीच हुने भुक्तानीको खुद हिसाब प्रत्येक दुई महिनामा मिलान गर्ने प्रणाली सञ्चालन गर्दै आएको छ।