काठमाडौँ– परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको राष्ट्रिय हितको संरक्षण र अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी प्रतिनिधित्वका लागि युवा कूटनीतिज्ञको क्षमता विकासमा जोड दिएका छन् । बदलिँदो विश्व परिवेशअनुसार कूटनीतिज्ञमा आलोचनात्मक सोच, अनुकूलनशीलता, सहकार्य र निरन्तर सिक्ने क्षमता आवश्यक रहेको उनको भनाइ छ ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) ले आयोजना गरेको ‘विश्वव्यापी प्रवृत्ति, स्थानीय दिशा : नेपालको भावी पुस्ताको कूटनीति’ विषयक सेमिनार उद्घाटन गर्दै मन्त्री खनालले प्रभावकारी कूटनीतिका लागि सबैभन्दा पहिले आफ्नै देश, समाज, संस्कृति, सबल पक्ष र सीमिततालाई गहिरोसँग बुझ्नुपर्ने बताए ।
आफ्नो समुदाय र देशलाई राम्ररी नबुझी अन्तर्राष्ट्रिय जगतमा प्रभावकारी प्रतिनिधित्व गर्न नसकिने उल्लेख गर्दै उनले नेपालको सांस्कृतिक, प्राकृतिक तथा दार्शनिक पहिचानलाई विश्वसामु आत्मविश्वासका साथ प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।
उनले हिमाल, पहाड र तराईका समुदायसँगै किसान, उद्यमी, युवा तथा श्रमिकका आवश्यकता र अपेक्षा बुझ्न सक्ने कूटनीतिज्ञ अहिलेको आवश्यकता भएको बताए ।
खनालले कूटनीतिमा प्रमाणमा आधारित विश्लेषण, समस्या समाधान गर्ने क्षमता, संकटअनुसार तत्काल अनुकूल हुन सक्ने दक्षता, विभिन्न संस्कृति र समुदायप्रतिको संवेदनशीलता तथा सहकार्यको भावना महत्त्वपूर्ण हुने उल्लेख गरे । तीव्र गतिमा परिवर्तन भइरहेको विश्वमा नयाँ ज्ञान र सीप हासिल गर्न नसक्ने व्यक्ति तथा संस्था पछाडि पर्ने उनको भनाइ थियो ।
युवा कूटनीतिज्ञलाई अङ्ग्रेजी, चिनियाँ र अरबीजस्ता अन्तर्राष्ट्रिय भाषासँगै नयाँ विषय र विधामा समेत दक्षता हासिल गर्न उनले आग्रह गरे । भगवद्गीताको ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ भन्ने सन्देश स्मरण गराउँदै उनले कूटनीति र राष्ट्र निर्माणमा आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताए ।
कार्यक्रममा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानकी कार्यकारी निर्देशक रोजिना ताम्राकारले प्रविधि, जलवायु परिवर्तन, आर्थिक अन्तरनिर्भरता, आप्रवासन, ऊर्जा रूपान्तरण र बदलिँदो भू–राजनीतिक समीकरणले अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ चुनौती तथा अवसर सिर्जना गरेको बताइन् ।
उनले विश्वव्यापी परिवर्तनलाई समयमै बुझेर नेपालको राष्ट्रिय हित र परराष्ट्र नीतिको प्राथमिकतासँग जोड्न युवा कूटनीतिज्ञ, अनुसन्धानकर्ता तथा नीतिनिर्माताको क्षमता अभिवृद्धि आवश्यक रहेको बताइन् । कूटनीति अब राज्य र परम्परागत संस्थामा मात्रै सीमित नरही व्यक्ति, संस्था, सञ्जाल तथा गैरराज्य पक्षको भूमिकासमेत महत्त्वपूर्ण बन्दै गएको उनको भनाइ थियो ।
दिनभर सञ्चालन हुने सेमिनारमा प्रविधि, डिजिटल रूपान्तरण र कूटनीतिको भविष्य, जलवायु, ऊर्जा तथा बदलिँदो विश्व व्यवस्थामा नेपालको स्थान र आप्रवासन तथा नेपालको विश्वव्यापी सहभागितालगायत विषयमा समूहगत छलफल गरिनेछ ।
विश्वविद्यालयका विद्यार्थी, युवा कूटनीतिज्ञ, सरकारी कर्मचारी, अनुसन्धानकर्ता तथा युवा पेसाकर्मीबीच विचार आदानप्रदान र नीतिगत संवादको अवसर सिर्जना गर्ने उद्देश्यले सेमिनार आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा निर्वाचन आयोगका निर्वाचन आयुक्त राजीव सुब्बा, परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, अनुसन्धानकर्ता तथा प्राज्ञिक क्षेत्रका व्यक्तित्वको सहभागिता थियो ।