काठमाडौँ– सेवाबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल कानुनी उपचारको बाटोमा अघि बढेका छन्। आफूलाई सेवाबाट हटाउने निर्णयमा पुनर्विचार गर्न माग गर्दै दाहालले सरकारसमक्ष पुनरावेदन दिएका छन्।
प्रशासन सिंहदरबार विशेष स्रोतका अनुसार दाहालले गृहमन्त्रीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन निवेदन बुझाएका हुन्। सरकारले गरेको बर्खास्तीको निर्णय चित्त नबुझेपछि उनले त्यसलाई चुनौती दिएका हुन्।
प्रधानमन्त्रीसँग सम्बन्धित संवेदनशील सूचना इनम सापकोटालाई दिएको आरोपमा सरकारले दाहाललाई गत असोज १९ गते निलम्बन गरेको थियो। सापकोटा पक्राउ परेपछि उनको मोबाइलमा दाहालसँग सम्पर्क भएको विवरण भेटिएको स्रोतको भनाइ छ।
त्यसपछि सरकारले घटनाको छानबिन गर्न एआईजी अञ्जनीकुमार पोखरेललाई जिम्मेवारी दिएको थियो। छानबिनपछि पदीय आचरण पालना नगरेको आधार देखाउँदै सरकारले असोज २३ गते दाहाललाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको थियो।
सरकारको उक्त निर्णयपछि सेवाबाट बाहिरिएका दाहालले अहिले पुनरावेदनमार्फत आफ्नो पक्ष राखेका छन्। उनको निवेदनमाथि सरकारले गर्ने निर्णयले बर्खास्ती कायम रहने वा त्यसमा पुनर्विचार हुने भन्ने विषय टुंगो लगाउनेछ।