सबै नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्‍याउनुपर्छ: मुख्यमन्त्री भट्ट - Chaitanya News
  • 2026-11-19
  • 12:40:41
  • बिहिबार,मंसिर ०४, २०८३
  • सबै नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्‍याउनुपर्छ: मुख्यमन्त्री भट्ट

    सबै नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्‍याउनुपर्छ: मुख्यमन्त्री भट्ट

    धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्दै सबै नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउनु आवश्यक रहेको बताएका छन्।

    उनलेले स्वास्थ्य क्षेत्रमा देखिएका विविध समस्या, नसर्ने रोगको बढ्दो प्रकोप, मानसिक स्वास्थ्य चुनौती तथा आत्महत्याजस्ता गम्भीर सामाजिक समस्याको न्यूनीकरणमा स्वास्थ्य युवा महोत्सवजस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

    उद्योग वाणिज्य संघ अत्तरियाद्वारा आयोजित स्वास्थ्य युवा महोत्सवलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले वर्तमान समयमा स्वास्थ्य क्षेत्रमा अनेकौँ चुनौती देखिइरहेको अवस्थामा जनचेतना अभिवृद्धि गर्ने यस्ता कार्यक्रम आयोजना गर्नु प्रशंसनीय रहेको बताए।

    उनले पछिल्लो समय सर्नेभन्दा नसर्ने रोगको प्रकोप बढ्दै गएको तथा मानसिक तनाव, डिप्रेसन र आत्महत्याका घटनासमेत बढिरहेको उल्लेख गरे। यस्ता समस्याको रोकथाम तथा न्यूनीकरणका लागि स्वास्थ्य सचेतना र जनसहभागिता आवश्यक रहेको उनको भनाइ थियो।

    स्वास्थ्य क्षेत्रको सुधार, रोगको रोकथाम तथा जनस्वास्थ्यसँग सम्बन्धित विभिन्न गतिविधिमा प्रदेश सरकार सधैँ सहयोग र सहकार्य गर्न तत्पर रहेको पनि उनले बताए।

    मुख्यमन्त्री भट्टले सुदूरपश्चिमको भौगोलिक अवस्था र विशेषगरी पहाडी क्षेत्रका नागरिकले स्वास्थ्य सेवामा पहुँचका लागि भोग्नुपरेका समस्यालाई ध्यानमा राखेर बैतडीको खोड्पे र डडेल्धुराको बुडरमा मिनी ट्रमा सेन्टर स्थापना गर्ने निर्णय गरिएको जानकारी दिए।

    त्यसैगरी, प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै दार्चुलाको गोकुलेश्वर र बाजुराको कोल्टीमा प्रादेशिक अस्पताल निर्माणको प्रक्रिया अघि बढाएको उनले बताए।

    उनले दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय यस क्षेत्रका नागरिकको चाहना, निरन्तर संघर्ष र लामो प्रयासको प्रतिफल भएको उल्लेख गर्नुभयो। विश्वविद्यालयमा एमबीबीएस अध्ययन सुरु हुने अवस्थामा कुनै पनि बहानामा पठनपाठन रोकिन नहुनेमा उनले जोड दिए।

    संघीय सरकार र डा. गोविन्द केसीबीच भइरहेको सम्झौताका सन्दर्भमा एमबीबीएस अध्ययन प्रभावित हुन सक्ने आशंका व्यक्त गर्दै मुख्यमन्त्री भट्टले विश्वविद्यालयका शैक्षिक कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने बताए।