काठमाडौँ– नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले निर्वाचनमा व्यहोरेको पराजयबाट निराश नभई कमजोरी सुधार गरेर पार्टी पुनर्निर्माणमा जुट्न नेता तथा कार्यकर्तालाई आह्वान गरेकी छन्। उनले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने भन्दै आगामी निर्वाचनलाई लक्षित गरेर नयाँ ऊर्जा र आत्मविश्वासका साथ अघि बढ्नुपर्ने बताइन्।
पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिन बिहीबार सम्बोधन गर्दै भण्डारीले गत निर्वाचनको परिणामलाई अस्थायी पराजयका रूपमा लिनुपर्ने र त्यसबाट सुधारका विषय पहिचान गर्नुपर्ने धारणा राखिन्।
उनले निराश भएर निष्क्रिय बस्नुभन्दा निर्वाचनमा भएका कमजोरीको समीक्षा गर्दै संगठनात्मक तथा राजनीतिक सुधारमा केन्द्रित हुनुपर्ने बताइन्।
‘निराश भएर निष्क्रिय बस्ने होइन, हारबाट सही र सकारात्मक पाठ सिक्दै, सुधार गर्नुपर्ने पक्षलाई सुधार्दै कमीकमजोरी सच्याउँदै आगामी स्थानीय तहलगायत निर्वाचनमा केन्द्रित हुनुपर्छ,’ उनले भनिन्।
११ वर्षपछि सक्रिय पार्टी राजनीतिमा फर्किएकी भण्डारीले आफ्नो पुनरागमन व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई पार्टीको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुर्याउन भएको स्पष्ट पारिन्।
पूर्वराष्ट्रपतिसमेत रहेकी उनले राष्ट्रपति पदमा रहँदा मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता तथा छिमेकी र मित्रराष्ट्रसँगको सम्बन्ध प्रवर्द्धनमा भूमिका खेलेको उल्लेख गरिन्। अब आफू कुनै पनि पदप्रति आशक्त नरहेको उनको भनाइ थियो।
भण्डारीले मुलुकको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा प्रतिकूल प्रभाव पार्ने गतिविधि कसैले गर्न नहुने धारणा पनि राखिन्।
पार्टीको वैचारिक तथा संगठनात्मक सुधारका विषयमा बोल्दै उनले जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) लाई भाषण र दस्तावेजमा मात्र सीमित नराखी दैनिक व्यवहार, निर्णय प्रक्रिया र संगठन सञ्चालनमा लागू गर्नुपर्ने बताइन्।
युवापुस्तामा बढ्दो निराशा, बेरोजगारी र विदेश पलायन रोक्न जनसंगठनहरूले उद्यमशीलता विकास, बहस तथा रचनात्मक अभियान सञ्चालन गर्नुपर्ने उनको सुझाव थियो । त्यस्तै, निर्वाचित जनप्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सुशासनका क्षेत्रमा पारदर्शी ढंगले काम गर्नुपर्नेमा उनले जोड दिइन्।
पार्टी शुद्धीकरण, जनसंगठनको प्रभावकारिता र जलवायु न्यायका विषयलाई समेत प्राथमिकतामा राख्नुपर्ने बताउँदै भण्डारीले एमालेले आफ्नो राजनीतिक तथा संगठनात्मक कार्यशैलीमा सुधार गर्नुपर्ने सन्देश दिइन्।
एमालेको दुईदिने राष्ट्रिय भेला बिहीबार सम्पन्न हुँदैछ।