काठमाडौँः राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई मधेस द्रुतमार्गको समग्र भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ। द्रुतमार्गअन्तर्गत मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकामा निर्माण भइरहेको ३ हजार ४५४ मिटर लामो महादेवटार सुरुङ दुवैतर्फबाट खनेर जोडिएको छ।
सुरुङ छिचोलिएको अवसरमा आयोजित कार्यक्रममा आयोजना प्रमुख सहायक रथी भरतलाल श्रेष्ठले द्रुतमार्गको समग्र भौतिक प्रगति ५१ प्रतिशत पुगेको जानकारी दिनुभयो ।
नेपाली सेनाका अनुसार द्रुतमार्गमा सात स्थानमा निर्माण भइरहेका १४ वटा सुरुङमध्ये धेद्रे, लेनडाँडा र महादेवटारका गरी ६ वटा सुरुङ खन्ने काम सम्पन्न भएको छ । बाँकी चार स्थानका आठवटा सुरुङ निर्माणाधीन अवस्थामा छन्।
यसैबीच, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले द्रुतमार्गको निर्माण निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन दिएका छन्। समारोहलाई सम्बोधन गर्दै उहाँले सरकारले आयोजनाको काम निर्धारित समयभन्दा तीन वर्षभन्दा बढी ढिलाइ भएको स्वीकार गर्न नसक्ने बताए।
निर्माणमा ढिलाइ गर्ने ठेकेदार कम्पनीसँगको ठेक्का तत्काल रद्द गरिने चेतावनी दिँदै मन्त्री लम्सालले पटक–पटक अवसर र सुविधा दिँदा पनि अपेक्षित प्रगति नभए ठेक्का अन्त्य गर्न निर्देशन दिए। उनले आगामी जेठसम्म निर्धारित कार्यतालिकाअनुसार ठोस प्रगति देखिनुपर्ने बताए।
आयोजनाअन्तर्गत ललितपुरको खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहणसम्बन्धी समस्या भने अझै समाधान हुन सकेको छैन। ६ दशमलव ५ किलोमिटर उक्त खण्डको समस्या समाधानका लागि पहल भइरहेको र त्यसपछि ठेक्का व्यवस्थापन प्रक्रिया अघि बढाइने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए।