विकास पूर्वाधार निर्माणमा भूगर्भीय जोखिम मूल्यांकन अनिवार्य गर्न सभामुख अर्यालको जोड - Chaitanya News
  • 2026-11-19
  • 10:38:36
  • बिहिबार,मंसिर ०४, २०८३
  • विकास पूर्वाधार निर्माणमा भूगर्भीय जोखिम मूल्यांकन अनिवार्य गर्न सभामुख अर्यालको जोड

    विकास पूर्वाधार निर्माणमा भूगर्भीय जोखिम मूल्यांकन अनिवार्य गर्न सभामुख अर्यालको जोड

    काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले विकास निर्माणका आयोजना सञ्चालन गर्दा भूगर्भीय अवस्था र प्राकृतिक विपद्को जोखिमलाई अनिवार्य रूपमा ध्यान दिनुपर्ने बताएका छन् । उनले वैज्ञानिक अनुसन्धान र भूगर्भीय अध्ययनबिना गरिने विकासले भविष्यमा ठूलो जोखिम निम्त्याउन सक्ने भन्दै यसलाई राष्ट्रिय नीति तथा विकास योजनाको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिएका छन् ।

    बिहीबार काठमाडौंमा आयोजित १२औँ नेपाल जियोलोजिकल कंग्रेसलाई सम्बोधन गर्दै अर्यालले नेपाल भूकम्प, पहिरो, बाढी, हिमताल विस्फोट र भूक्षयजस्ता प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गरे ।

    प्राकृतिक विपद् पूर्ण रूपमा रोक्न नसकिए पनि वैज्ञानिक अध्ययन, जोखिम पहिचान, पूर्वतयारी र प्रभावकारी नीतिका माध्यमबाट त्यसबाट हुने क्षति न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो । यसका लागि भूविज्ञानसम्बन्धी अनुसन्धानलाई विकास प्रक्रियासँग जोड्नुपर्ने उनले बताए ।

    सडक, सुरुङमार्ग, जलविद्युत् आयोजना, विमानस्थल र सहरी पूर्वाधार निर्माणअघि भूगर्भीय अध्ययन तथा जोखिम मूल्यांकनलाई प्राथमिकता दिनुपर्ने अर्यालले बताए । विकासको गति बढाउने नाममा सुरक्षित भविष्यलाई बेवास्ता गर्न नहुने उनको भनाइ थियो ।

    ‘प्रकृतिलाई बुझेर गरिने विकास मात्र सुरक्षित र दिगो हुन्छ,’ उनले भने ।

    अर्यालले वैज्ञानिक अनुसन्धानबाट प्राप्त निष्कर्षलाई कानुन, सार्वजनिक नीति र विकास योजनामा समेट्नु संसद्को समेत महत्त्वपूर्ण जिम्मेवारी भएको बताए । यसका लागि संसद्, सरकार, विश्वविद्यालय, अनुसन्धान संस्था र वैज्ञानिक समुदायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

    उनले विपद् आइसकेपछि उद्धार र राहतमा मात्र केन्द्रित नभई विपद् आउनुअघि नै जोखिम पहिचान तथा न्यूनीकरण गर्ने प्रणाली विकास गर्नुपर्नेमा जोड दिए । प्राकृतिक स्रोतको वैज्ञानिक र दिगो उपयोगसँगै युवा वैज्ञानिकको अनुसन्धान तथा प्राविधिक क्षमता अभिवृद्धि गर्नुपर्ने पनि उनले बताए ।

    हिमालय क्षेत्रको भौगर्भिक तथा जलवायुजन्य परिवर्तनले नेपालमा मात्र नभई दक्षिण एसियासहित विश्वका विभिन्न क्षेत्रमा प्रभाव पार्न सक्ने उल्लेख गर्दै अर्यालले अन्तर्राष्ट्रिय सहकार्य, वैज्ञानिक तथ्याङ्क आदानप्रदान, संयुक्त अनुसन्धान र प्रविधि हस्तान्तरणलाई प्राथमिकता दिनुपर्ने बताए ।

    उनले हिमालयलाई पृथ्वीको विकासक्रम, भौगर्भिक गतिविधि र जलवायु परिवर्तन अध्ययनका लागि विश्वकै महत्त्वपूर्ण प्राकृतिक प्रयोगशालाका रूपमा व्याख्या गरे ।

    नेपाल भौगर्भिक समाजले भूविज्ञानको अध्ययन, अनुसन्धान तथा वैज्ञानिक ज्ञानको प्रसारमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै उनले समाजले वैज्ञानिक अनुसन्धान र राष्ट्रिय नीति निर्माणबीच सेतुको भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

    ‘उत्थानशील, दिगो र स्रोत–सुरक्षित विश्वका लागि हिमालय क्षेत्रको भूविज्ञानको पुनर्संरचना’ विषयमा आयोजित सम्मेलनबाट प्राप्त वैज्ञानिक निष्कर्ष र सुझावलाई राष्ट्रिय नीति, विकास योजना तथा स्थानीय तहका व्यावहारिक कार्यमा समेट्नुपर्नेमा पनि उनले जोड दिए ।