काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) बाट निर्वाचित भएका १८ जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले दल त्याग गरेको ठहर गर्दै उनीहरूको निर्वाचित पद रिक्त भएको जानकारी दिएको हो ।
आयोगले २०८३ मंसिर २ गते गरेको निर्णयअनुसार मधेश प्रदेशका पाँच र कोशी प्रदेशका १३ जना जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ ।
आयोगका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनमा जसपा नेपालको तर्फबाट निर्वाचित भएका उनीहरूले पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत काम गर्दै दल त्याग गरेका थिए । यसबारे जसपा नेपालले केन्द्रीय समन्वय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी गराएको थियो ।
पद गुमाउनेमा खोटाङका मात्रै आठ जना जनप्रतिनिधि छन् । खोटाङको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका वडा नम्बर १० का वडाध्यक्ष मुगाधन राईको पद रिक्त भएको छ ।
त्यस्तै, सोही वडाका महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गीता विक, वडा सदस्य रामधन राई र शहरमनी राई तथा नगरकार्यपालिका सदस्य वीरेन्द्रकुमार दर्नालको पदसमेत रिक्त भएको आयोगले जनाएको छ ।
कोशी प्रदेशकै भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बालचन्द्र राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष छत्रबहादुर राई र सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष जुडिलाल कौडगियाको पद पनि गुमेको छ ।
इलामका दुई जनप्रतिनिधिमध्ये माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोदकुमार नेम्बाङ र सन्दकपुर गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष डालबहादुर गुरुङको पद रिक्त भएको छ ।
मधेश प्रदेशतर्फ सिरहाका तीन र पर्साका दुई जनप्रतिनिधिको पद रिक्त भएको छ । सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचरितर महतो, सखुवानान्कारकट्टी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष रमेश कुमार यादव र धनगढीमाई नगरपालिका वडा नम्बर ७ का अध्यक्ष विजय कुमार महतो पदमुक्त भएका छन् ।
त्यसैगरी, पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ का अध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का अध्यक्ष सञ्जयकुमार पटेलको पद पनि रिक्त भएको छ ।
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको देखिएकाले उनीहरूको पद स्वतः रिक्त भएको जनाएको छ ।
आयोगले नियमावलीको नियम २२ को उपनियम (२) अनुसार सम्बन्धित सबैको जानकारीका लागि सार्वजनिक सूचना जारी गरेको हो ।
