आजदेखि १४ गतेसम्म काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली कटौती हुने - Chaitanya News
  • 2026-11-19
  • 09:04:34
  • बिहिबार,मंसिर ०४, २०८३
  • आजदेखि १४ गतेसम्म काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली कटौती हुने

    आजदेखि १४ गतेसम्म काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली कटौती हुने

    काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण लाइन भूमिगत गर्ने कामलाई तीव्रता दिँदै काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणले मंसिर ३ गतेदेखि १४ गतेसम्म विभिन्न स्थानमा दैनिक ६ घण्टासम्म विद्युत् कटौती गर्ने तालिका सार्वजनिक गरेको छ ।

    प्राधिकरणका अनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

    निर्धारित तालिकाअनुसार मंसिर ३, ६ र ८ गते नैकापको बल्खु खोला पुल क्षेत्रमा विद्युत् आपूर्ति रोकिनेछ । मंसिर ४ गते लुम्बिनीदेखि शिफल ग्राउन्डसम्म र ५ गते स्युचाटार पुल क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।

    त्यस्तै, मंसिर ७ गते कोटेश्वर–इमाडोल फिडरअन्तर्गत ईडीटीआर ९ र ९ए क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । कोटेश्वर फिडरअन्तर्गत मंसिर ९ गते ईडीटीआर २६ए र ४ तथा मंसिर १२ गते ईडीटीआर ८ए र ८ मा विद्युत् कटौती गरिने प्राधिकरणले जनाएको छ ।

    मंसिर १० र १४ गते शिफल ग्राउन्डदेखि कालोपुलसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । यसैगरी, मंसिर ११ गते सतुङ्गलदेखि ढुङ्गे अड्डासम्म र १३ गते बलम्बुदेखि सगरमाथा स्याटेलाइट स्टेसनसम्म विद्युत् सेवा अवरुद्ध हुने सूचनामा उल्लेख छ ।

    प्राधिकरणले विद्युत् वितरण प्रणालीलाई व्यवस्थित तथा भरपर्दो बनाउन लाइन भूमिगत गर्ने काम गर्न लागेको जनाएको छ । निर्धारित कार्यतालिका मौसमको प्रतिकूलताका कारण परिवर्तन वा रद्द हुन सक्ने पनि प्राधिकरणले स्पष्ट पारेको छ ।

    विद्युत् आपूर्ति बन्द हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमासमेत मागेको छ ।