एनपीएल फाइनल पुग्न चितवन र सुदूरपश्चिमबीच आज भिडन्त - Chaitanya News
  • 2026-11-19
  • 08:58:19
  • बिहिबार,मंसिर ०४, २०८३
  • एनपीएल फाइनल पुग्न चितवन र सुदूरपश्चिमबीच आज भिडन्त

    एनपीएल फाइनल पुग्न चितवन र सुदूरपश्चिमबीच आज भिडन्त

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा स्थान बनाउन आज चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो क्वालिफायरअन्तर्गत हुने खेलमा जित निकाल्ने टोलीले उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्ससँग भिड्ने अवसर पाउनेछ ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ । दुवै टोलीका लागि आजको खेल फाइनल पुग्ने अन्तिम अवसर हो ।

    पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिम रोयल्स दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो । सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले २० बल बाँकी छँदै चार विकेट गुमाएर पूरा गरेको थियो ।

    यता चितवन राइनोजले भने इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । बुधबार भएको उक्त खेलमा जित निकाल्दै चितवनले प्रतियोगितामा आफ्नो उपाधि यात्रालाई निरन्तरता दिएको छ । पराजयसँगै काठमाडौं गोर्खाज प्रतियोगिताबाट बाहिरिएको थियो ।

    अब चितवन र सुदूरपश्चिममध्ये जित्ने टोलीले शनिबार हुने फाइनलमा लुम्बिनी लायन्सको सामना गर्नेछ । पहिलो क्वालिफायर जितेको लुम्बिनी भने यसअघि नै फाइनलमा पुगिसकेको छ ।

    दोस्रो क्वालिफायरको नतिजाले एनपीएलको उपाधिका लागि प्रतिस्पर्धा गर्ने दोस्रो टोलीको टुंगो लगाउनेछ ।