काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलालाई व्यवस्थित र मर्यादित बनाउन प्रवेश व्यवस्थापन तथा सुरक्षा सतर्कता बढाउन निर्देशन दिएका छन् । उनले कार्यक्रमस्थलमा अपरिचित व्यक्तिको आवतजावत नियन्त्रण गर्न र सहभागीको पहिचान सुनिश्चित गर्न स्वयंसेवकहरूलाई सचेत गराएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले कार्यक्रमस्थलमा कसले प्रवेश गरिरहेको छ र को कहाँसम्म पुगिरहेको छ भन्ने विषयमा स्वयंसेवकहरूले विशेष ध्यान दिनुपर्ने बताए ।
आफूहरू बसिरहेको स्थानसम्मै एक अपरिचित व्यक्ति आएर पत्र बुझाएको प्रसंग सुनाउँदै उनले कार्यक्रमस्थलमा जोसुकैको सहज पहुँच हुन नहुने बताए । ती व्यक्तिले आफूलाई सामान्य नेपाली मतदाता भएको बताएको उल्लेख गर्दै ओलीले सुरक्षा व्यवस्थापनमा कमजोरी हुन नदिन आग्रह गरे ।
पार्टीका नेता तथा प्रतिनिधिहरूलाई भेट्न अपरिचित व्यक्तिहरू सहजै पुग्दा अनावश्यक समय खर्च हुने भन्दै उनले प्रवेश व्यवस्थापन चुस्त बनाउनुपर्ने बताए । यसका लागि भेलामा सहभागी सबै नेता तथा कार्यकर्ताले परिचयपत्र अनिवार्य रूपमा लगाउनुपर्ने उनको निर्देशन थियो ।
ओलीले बैठक सञ्चालनका क्रममा अनावश्यक कुराकानी नगर्न र शान्त वातावरण कायम राख्न पनि आग्रह गरे । आपसी भेटघाट तथा कुराकानीका लागि बैठकको समयभन्दा खाना, खाजा र विश्रामको समय उपयोग गर्नुपर्ने उनको भनाइ थियो ।
उनले सांस्कृतिक वा अन्य कारणले परिचयपत्र लगाउन नमिल्ने सहभागीले पनि परिचयपत्र साथमा राख्न र आवश्यक पर्दा देखाउनुपर्ने बताए ।
‘बैठकलाई पूर्ण रूपमा शान्त, अनुशासित र मर्यादित बनाउनुपर्छ । सुरक्षाका दृष्टिले स्वयंसेवक साथीहरूले पनि विशेष ध्यान दिनुपर्छ। अपरिचित व्यक्तिको प्रवेश, भेटघाट र आवतजावतलाई व्यवस्थित गर्नुपर्छ,’ ओलीले भने ।
राष्ट्रिय भेलालाई अनुशासनको नमुना बनाउनुपर्ने उल्लेख गर्दै उनले निर्धारित कार्यसूचीअनुसार कार्यक्रम अघि बढाउन र दिउँसो २ बजेसम्म सम्पन्न गर्ने लक्ष्यका साथ जिम्मेवार भएर सहभागी हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।