धनगढीः स्थानीय खानाका परिकार, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धनगढीमा तीनदिने ‘धनगढी खाना महोत्सव’ आयोजना हुने भएको छ।
धनगढी उपमहानगरपालिका र होटल व्यवसायी संघ कैलालीको सहकार्यमा आगामी पुस १०, ११ र १२ गते धनगढीको जेन्जी मार्गमा महोत्सव सञ्चालन हुने भएको हो। महोत्सव आयोजनाका लागि दुवै पक्षबीच बुधबार औपचारिक सम्झौता भएको छ।
सम्झौताअनुसार महोत्सव सञ्चालन तथा व्यवस्थापनका लागि उपमहानगरपालिकाले होटल व्यवसायी संघ कैलालीलाई १० लाख रुपैयाँ आर्थिक अनुदान उपलब्ध गराउनेछ। महोत्सवको संयोजकमा केशव न्यौपाने रहेका छन्।
संयोजक न्यौपानेका अनुसार सुदूरपश्चिमका मौलिक खानपानको संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन, संस्कृति तथा पर्यटन विकास र आर्थिक समृद्धिमा योगदान पुर्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।
होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशवराज पाण्डेयले उपमहानगरपालिकासँगको सहकार्यमा पहिलोपटक तीनदिने खाना महोत्सव आयोजना गर्न लागिएको बताए। उहाँले आगामी दिनमा वार्षिक क्यालेन्डर बनाएर महोत्सवलाई निरन्तरता दिने योजना रहेको जानकारी दिए।
महोत्सवले स्थानीय परिकारको प्रवर्द्धनसँगै होटल तथा पर्यटन व्यवसायलाई चलायमान बनाउने अपेक्षा गरिएको छ। महोत्सव व्यवस्थापनका लागि धनगढी उपमहानगरपालिकाले आवश्यक समन्वय, सहजीकरण तथा अनुगमन गर्नेछ।