जलवायुजन्य क्षति व्यवस्थापनमा नेपाललाई सान्टियागोको सहयोग - Chaitanya News
  • 2026-11-19
  • 11:06:20
  • बिहिबार,मंसिर ०४, २०८३
  • जलवायुजन्य क्षति व्यवस्थापनमा नेपाललाई सान्टियागोको सहयोग

    जलवायुजन्य क्षति व्यवस्थापनमा नेपाललाई सान्टियागोको सहयोग

    अन्ताल्या (टर्की)– जलवायु परिवर्तनका कारण नेपालमा हुने हानि तथा नोक्सानीको मूल्यांकन, अभिलेखीकरण र व्यवस्थापनलाई व्यवस्थित बनाउन राष्ट्रिय रणनीतिक योजना तयार गरिने भएको छ। यसका लागि नेपालले सान्टियागो नेटवर्कबाट प्राविधिक सहयोग प्राप्त गर्ने भएको छ।

    टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) का क्रममा नेपाल र सान्टियागो नेटवर्क अन लस एण्ड ड्यामेज (एसएनएलडी) बीचको साझेदारी औपचारिक रूपमा घोषणा गरिएको हो। नेटवर्कको विशेष कार्यक्रम ‘सान्टियागो नेटवर्क इन २०२६ : द इयर अफ स्केल्ड डेलिभरी’ मार्फत नेपाललाई प्राविधिक सहयोग उपलब्ध गराउने जानकारी दिइएको हो।

    संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालका प्रतिनिधि दीपक केसीका अनुसार यो सहकार्यले जलवायुजन्य हानि तथा नोक्सानीलाई नेपालको जलवायु नीति, राष्ट्रिय योजना र विकास प्रक्रियामा संस्थागत रूपमा समेट्न सहयोग पुर्‍याउनेछ।

    उनका अनुसार विज्ञान, संस्थागत शासन प्रणाली र वित्तीय स्रोतबीच समन्वय कायम गर्दै जलवायु उत्थानशील पुनःस्थापना, जोखिम न्यूनीकरण तथा दिगो विकासका लागि आवश्यक आधार तयार गर्नु साझेदारीको मुख्य उद्देश्य हो।

    यस सहयोगअन्तर्गत यूएनडीपी, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र क्लाइमेट एनालिटिक्सले नेपाल सरकारलाई राष्ट्रिय प्राथमिकतामा आधारित रणनीतिक योजना निर्माणमा प्राविधिक सहयोग गर्नेछन्।

    प्रस्तावित योजनामा जलवायु परिवर्तनका कारण हुने हानि तथा नोक्सानीको मूल्यांकन, तथ्यांक संकलन तथा व्यवस्थापन, सम्बन्धित सरकारी निकायबीच संस्थागत समन्वय र हिमताल विस्फोटजन्य बाढी (जीएलओएफ) को जोखिम व्यवस्थापनलाई समेटिनेछ। यसले जलवायुजन्य विपद्बाट भएको क्षति पहिचान गर्नेदेखि पुनःस्थापनाका लागि आवश्यक लगानी प्राथमिकता निर्धारण गर्नेसम्मका विषयलाई सम्बोधन गर्नेछ।

    गत नोभेम्बर १६ मा यूएनडीपी नेपाल र संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस) बीच अनुदान सम्झौतामा हस्ताक्षर भएको थियो। त्यसपछि कोप–३१ को विशेष कार्यक्रममा सान्टियागो नेटवर्कसँग नेपालको साझेदारी र प्राविधिक सहयोगको औपचारिक घोषणा गरिएको हो।

    कोप–३१ मा नेपालका तर्फबाट कृषि, वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव डा. महेश्वर ढकालले प्रतिनिधित्व गरेका थिए। कार्यक्रममा यूएनडीपीका रोनाल्ड ज्याक्सन र इसिमोडका कुन्जाङ के.ले पनि साझेदारी तथा प्राविधिक सहयोगसम्बन्धी विषयमा योगदान गरेका थिए।

    हिमताल विस्फोटजन्य बाढी, बाढीपहिरो, अतिवृष्टि तथा अन्य जलवायुजन्य विपद्को उच्च जोखिममा रहेको नेपालका लागि यो सहयोग महत्त्वपूर्ण मानिएको छ। विशेषगरी जलवायुजन्य विपद्बाट हुने क्षतिको वैज्ञानिक मूल्यांकन, व्यवस्थित तथ्यांक प्रणाली र सरकारी निकायबीच समन्वयको अभावलाई सम्बोधन गर्न यसले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

    रणनीतिक योजना निर्माणले जलवायु परिवर्तनबाट हुने हानि तथा नोक्सानीलाई विपद्पछिको उद्धार र राहतमा मात्र सीमित नराखी राष्ट्रिय विकास योजना, जलवायु अनुकूलन, जोखिम न्यूनीकरण तथा वित्तीय व्यवस्थापनसँग जोड्ने आधार तयार गर्नेछ। साथै, क्षतिको प्रमाणमा आधारित मूल्यांकनमार्फत अन्तर्राष्ट्रिय जलवायु वित्तमा नेपालको पहुँच विस्तार गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    सन् २०१९ मा स्थापना भएको सान्टियागो नेटवर्कले जलवायु परिवर्तनका प्रतिकूल प्रभावबाट सिर्जित हानि तथा नोक्सानी रोक्न, न्यूनीकरण गर्न र सम्बोधन गर्न विकासशील तथा जलवायु जोखिममा रहेका देशहरूलाई प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ।