आगामी निर्वाचन जित्न पार्टी एकता बलियो बनाउनुपर्ने बादलको भनाइ - Chaitanya News
  • 2026-11-19
  • 11:32:08
  • बिहिबार,मंसिर ०४, २०८३
  • आगामी निर्वाचन जित्न पार्टी एकता बलियो बनाउनुपर्ने बादलको भनाइ

    आगामी निर्वाचन जित्न पार्टी एकता बलियो बनाउनुपर्ने बादलको भनाइ

    काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी निर्वाचनमा सफलता हासिल गर्न पार्टीभित्रको एकता सुदृढ गर्दै जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्नुपर्ने बताएका छन्। उनले आगामी निर्वाचन सामान्य प्रतिस्पर्धा नभई लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरू र पपुलिस्ट तथा फासीवादी शक्तिहरूबीचको भीषण संघर्ष हुने दाबी गरेका छन्।

    काठमाडौंमा पार्टीले आयोजना गरेको दुईदिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै थापाले निर्वाचनमा विजय हासिल गर्न विगतका कमजोरीबाट पाठ सिकेर नयाँ चुनावी रणनीति बनाउनुपर्ने बताए।

    उनका अनुसार गत निर्वाचनको परिणामको पुनरावृत्ति हुने वा त्यसमा क्रमभंग गर्ने भन्ने विषय अहिलेको मुख्य राजनीतिक प्रश्न हो। त्यसका लागि पार्टीले आफ्नो शक्ति, कमजोरी र प्रमुख राजनीतिक प्रतिद्वन्द्वीको सही पहिचान गर्नुपर्ने उनको भनाइ थियो।

    चिनियाँ रणनीतिकार सुन जुको भनाइ उद्धृत गर्दै थापाले आफूलाई र प्रतिद्वन्द्वीलाई चिन्न सके मात्र संघर्षमा सफलता प्राप्त गर्न सकिने बताए।

    ‘हामीले हाम्रो प्रमुख प्रतिद्वन्द्वीलाई चिन्न सकेनौँ। हामीले हाम्रा कमजोरी बुझ्न सकेनौँ । मुख्य प्रतिद्वन्द्वीविरुद्ध परस्पर सहकार्य गर्न सकेनौँ। आन्तरिक एकता कायम गर्न र जनतासँग प्रत्यक्ष सम्बन्ध गाँस्न सकेनौँ,’ उनले विगतको निर्वाचनको समीक्षा गर्दै भने।

    उनले पछिल्लो समय भूराजनीतिक शक्तिहरूबीचको संघर्ष तीव्र बनेको, लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य बढेको र सरकारप्रति जनताको आक्रोश चुलिँदै गएको दाबी गरे। पछिल्ला राजनीतिक घटनाक्रमले संसदीय, सडक तथा कानुनी संघर्षमा विजयको संकेत देखाएको उनको भनाइ थियो।

    थापाले आगामी वर्ष निर्वाचन वर्ष भएकाले स्थानीय तह, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको तयारीमा पार्टी जुट्नुपर्ने बताए। गत फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा र त्यसबाट प्राप्त निष्कर्षका आधारमा आगामी चुनावी रणनीति तय गर्नुपर्ने उनले उल्लेख गरे।

    राष्ट्रिय भेलालाई पार्टीको नयाँ एकता र नयाँ संकल्पको अभिव्यक्तिका रूपमा व्याख्या गर्दै उनले केन्द्रीय कमिटीले तय गरेका दुई कार्यभार र १५ काम पूरा गर्ने उद्देश्यले भेला आयोजना गरिएको बताए।

    उनका अनुसार एमालेले आफूलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न पार्टी पुनर्निर्माण गर्ने, राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक आन्दोलनको तयारी गर्ने तथा आगामी निर्वाचनको पूर्वतयारी गर्ने निर्णय गरेको छ।

    त्यस्तै, संविधान रक्षाका लागि कानुनी संघर्ष गर्ने तथा जनतासँग प्रत्यक्ष संवादमार्फत सम्बन्ध विस्तार र सुदृढीकरण गर्ने निर्णयसमेत केन्द्रीय कमिटीले गरेको उनले जानकारी दिए।

    विगतको निर्वाचनबारे पार्टीले गरेको गम्भीर आत्मसमीक्षाबाट प्राप्त निष्कर्षलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै थापाले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि संघर्षको विकल्प नरहेको बताए।