काठमाडौं– काठमाडौंको वायु प्रदूषणको स्तर अस्वस्थकर तहमा पुगेको छ। विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा परेको छ।
वायु गुणस्तर मापन गर्ने संस्था आईक्यूएयरले बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (यूएस एक्यूआई) १८३ पुगेको छ।
बिहान ८ः४५ देखि ९ः४५ बजेसम्मको तथ्यांकमा काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये तेस्रो स्थानमा देखिएको हो।
सूचीको पहिलो स्थानमा पाकिस्तानको लाहोर रहेको छ। लाहोरको वायु गुणस्तर सूचकांक ३२५ पुगेको छ भने दोस्रो स्थानमा रहेको बंगलादेशको ढाकाको सूचकांक २५६ रहेको छ।
त्यस्तै, भारतको दिल्ली १८२ सूचकांकसहित चौथो, पाकिस्तानको कराँची १६७ सहित पाँचौँ र इजिप्टको कायरो १६५ सहित छैटौँ स्थानमा छन्।
काठमाडौंको वायु गुणस्तर अस्वस्थकर तहमा पुगेपछि विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा रहेका छन्।
वायु प्रदूषणको यस्तो अवस्थाले सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने भएकाले प्रदूषणको जोखिमप्रति सचेत रहनुपर्ने देखिएको छ।