कर्णालीः लामो समयदेखि बजेट अभाव र निर्माण प्रक्रियामा देखिएको ढिलाइका कारण गति लिन नसकेको कर्णाली करिडोर निर्माणले अब गति लिने भएको छ। करिडोरअन्तर्गत विभिन्न सडक खण्डको निर्माण तथा स्तरोन्नतिका लागि ३ अर्ब रुपैयाँभन्दा बढीको बहुवर्षीय ठेक्का स्वीकृत भएको छ।
मंसिर २ गते भएको उक्त निर्णयअनुसार कर्णाली करिडोरका तीनवटा खण्डमा कुल ४१ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गरिनेछ। यसअन्तर्गत तुम्च–सल्लीसल्ला, खुलालु–कवाडी र भुक्काखोला–पिलिचौर सडक खण्ड समेटिएका छन्।
निर्माण सुरु हुने प्रतीक्षामा २७ वर्षभन्दा बढी समय बिताएको कर्णाली करिडोरमा लामो समयदेखि बजेट अभाव र बहुवर्षीय ठेक्का प्रक्रियाको स्वीकृति नहुँदा निर्माण कार्यले अपेक्षित गति लिन सकेको थिएन। पछिल्लो निर्णयसँगै सडक निर्माण तथा स्तरोन्नतिको काम अघि बढ्ने अपेक्षा गरिएको छ।
विशेषगरी हुम्लालगायत कर्णालीका दुर्गम क्षेत्रको सडक पहुँच सहज बनाउन यो आयोजना महत्वपूर्ण मानिएको छ। सडक निर्माण तथा स्तरोन्नति भएपछि स्थानीयवासीको आवागमन र दैनिक उपभोग्य वस्तुको ढुवानीमा देखिँदै आएको कठिनाइ कम हुने अपेक्षा गरिएको छ।
कर्णाली करिडोरलाई दुर्गम बस्तीलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने महत्वपूर्ण पूर्वाधार आयोजनाका रूपमा लिइएको छ। सडक विस्तारसँगै यस क्षेत्रको व्यापार, पर्यटन, कृषि उपजको बजारीकरण र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।