एमाले कमजोर भएको छैन,प्रतिपक्षको भूमिका सशक्त बनाउँछौँ : ओली - Chaitanya News
  • 2026-11-19
  • 13:36:55
  • बिहिबार,मंसिर ०४, २०८३
  • एमाले कमजोर भएको छैन,प्रतिपक्षको भूमिका सशक्त बनाउँछौँ : ओली

    एमाले कमजोर भएको छैन,प्रतिपक्षको भूमिका सशक्त बनाउँछौँ : ओली

    काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको संरक्षणमा बसेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् । उनले एमाले स्वतन्त्र प्रतिपक्षका रूपमा सरकारका गलत कामकारबाहीको विरोध गर्ने स्पष्ट पारेका छन् ।

    बिहीबार काठमाडौँमा जारी एमाले राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले एमाले देशको प्रमुख प्रतिपक्षी शक्ति भएकाले राष्ट्रिय स्वाधीनता, राष्ट्रिय हित र जनताको अधिकारको रक्षाका लागि आवाज उठाउने बताएका हुन् ।

    उनले निर्वाचनमा एमालेले व्यहोरेको पराजयलाई जनताबाट टाढिएको परिणामका रूपमा मात्रै व्याख्या गर्न नमिल्ने जिकिर गरे । निर्वाचनअघि नै प्रतिकूल राजनीतिक वातावरण सिर्जना गरिएको र एमालेलाई राजनीतिक रूपमा एक्ल्याउने प्रयास भएको उनको आरोप थियो ।

    ओलीले संसद्को असंवैधानिक विघटनलाई मान्यता दिइएको विषय उठाउँदै न्यायालयको भूमिकामाथि समेत प्रश्न गरे । संविधान र कानुनअनुसार न्यायिक निर्णय हुन नसकेको भन्दै उनले त्यसबेला न्यायालयले न्याय दिन नसकेको टिप्पणी गरे ।

    निर्वाचनको वातावरण अनुकूल नभएको भन्दै एमालेले सुरुदेखि नै आवाज उठाए पनि पार्टी निर्वाचनबाट पछि नहटेको उनले बताए । निर्वाचनमा सहभागी नभएको भए पार्टीमाथि थप गलत व्याख्या र प्रहार हुन सक्ने भएकाले प्रतिकूल परिस्थितिमै चुनावमा गएको उनको भनाइ थियो ।

    विभिन्न शक्तिहरूले एमालेलाई कमजोर बनाउने प्रयास गरे पनि पार्टी अझै बलियो अवस्थामा रहेको ओलीले दाबी गरे ।

    यसैगरी, उनले टर्कीमा आयोजित जलवायु परिवर्तनसम्बन्धी कोप सम्मेलनमा नेपालको सहभागितालाई लिएर सरकारको आलोचना गरे । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रस्तुति प्रभावकारी हुन नसकेको उनको टिप्पणी थियो ।

    जलवायु परिवर्तनको विषय पर्यटनसँग मात्रै सम्बन्धित नभई हिमाल, हिमनदी, पानीको पुनर्भरण प्रणाली, पारिस्थितिक प्रणाली तथा जनधनको सुरक्षासँग जोडिएको ओलीले बताए । हिमालको संरक्षण नेपालसँग मात्र नभई विश्वव्यापी सरोकारको विषय भएकाले यसलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउनुपर्नेमा उनले जोड दिए ।