भोटेकोशी बाढीमा बेपत्ता २६ जनाका परिवारलाई ५२ लाख राहत दिइने - Chaitanya News
  • 2026-11-19
  • 15:04:20
  • बिहिबार,मंसिर ०४, २०८३
  • भोटेकोशी बाढीमा बेपत्ता २६ जनाका परिवारलाई ५२ लाख राहत दिइने

    भोटेकोशी बाढीमा बेपत्ता २६ जनाका परिवारलाई ५२ लाख राहत दिइने

    कञ्चनपुरः भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका कञ्चनपुरका २६ जनाका परिवारलाई जनही दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराइने भएको छ।

    जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहतस्वरूप उक्त रकम उपलब्ध गराउने निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिए।

    उनका अनुसार पछि शोधभर्ना हुने गरी तत्कालका लागि सम्बन्धित स्थानीय तहलाई नै राहत रकम वितरण गर्न निर्देशन दिइसकिएको छ।

    ‘बेपत्ता भएका २६ जनाका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भने, ‘पछि शोधभर्ना हुने गरी सम्बन्धित पालिकालाई राहत रकम उपलब्ध गराउन भनिसकेका छौँ।’

    प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार समितिको निर्णयअनुसार २६ परिवारलाई जनही दुई लाखका दरले कुल ५२ लाख रुपैयाँ राहत उपलब्ध गराउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग रकम माग गरिएको छ।

    बाढीमा परी भीमदत्त नगरपालिकाका आठ, शुक्लाफाँटा नगरपालिकाका छ, कृष्णपुर नगरपालिकाका पाँच, बेदकोट र बेलौरी नगरपालिकाका तीन–तीन तथा लालझाडी गाउँपालिकाका एक जना बेपत्ता भएका छन्।

    बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णयले विपद्का कारण प्रभावित परिवारलाई केही आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ।