काठमाडौंः प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको प्रेस ब्रिफिङमा भ्रमणको कार्यतालिका सार्वजनिक गरिएको हो ।
मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो १:४५ बजे नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत भारत प्रस्थान गर्नेछन् । भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत सहभागी हुनेछन्।
प्रधानमन्त्रीको भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय टोलीसमेत सहभागी हुने भएको छ । उक्त टोली आफ्नै खर्चमा भारत जान लागेको हो । निजी खर्चमै केही सञ्चारकर्मी पनि भ्रमण टोलीमा सहभागी हुनेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले मंसिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाबारे छलफल हुने बताइएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा केही सम्पन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने तयारीसमेत गरिएको छ ।
दुई दिने भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ६:३५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।