स्थानीय र प्रदेशको निर्वाचन एकैपटक गर्ने विषयमा छलफल - Chaitanya News
  • 2026-11-20
  • 15:13:29
  • शुक्रबार,मंसिर ०५, २०८३
  • स्थानीय र प्रदेशको निर्वाचन एकैपटक गर्ने विषयमा छलफल

    स्थानीय र प्रदेशको निर्वाचन एकैपटक गर्ने विषयमा छलफल

    काठमाडौंः सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा छलफल भइरहेको जनाएको छ ।

    शुक्रबार निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न राजनीतिक दलका शीर्ष नेताहरूसँग आयोजना गरेको बैठकपछि रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलले यस्तो जानकारी दिएका हुन् ।

    उनका अनुसार बैठकमा स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउने वा छुट्टाछुट्टै गर्ने भन्ने दुवै विकल्पका फाइदा र बेफाइदाबारे छलफल भएको थियो ।

    ‘निर्वाचन आयोगको तर्फबाट मतदाता नामावली अद्यावधिक लगायतका विभिन्न कामहरू भइरहेको सन्दर्भमा आयोगले राजनीतिक दलको शीर्ष नेतृत्वलाई जानकारी दिएको छ,’ उनले भने, ‘स्थानीय तहको निर्वाचन र प्रदेश निर्वाचन एउटै समयमा गर्न सकिन्छ कि सकिँदैन भनेर राजनीतिक दलका तर्फबाट उहाँहरू सहभागी हुनुभयो ।’

    खरेलका अनुसार स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ । त्यसअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले करिब दुई महिनाअघि निर्वाचन गर्नुपर्ने अवस्था छ । त्यस्तै, प्रदेशसभाको निर्वाचन भने मंसिरको पहिलो साता गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

    दुवै निर्वाचन एकैसाथ गर्न सकिने वा नसकिने विषयमा पनि बैठकमा छलफल भएको उनको भनाइ छ ।

    यस विषयमा उच्चस्तरीय राजनीतिक संयन्त्रमा थप छलफल हुने खरेलले जानकारी दिए । निर्वाचन आयोग, राजनीतिक दल, सरकार तथा अन्य सरोकारवालाबीच पनि व्यापक छलफल गरिने उनले बताए ।

    शुक्रबारको बैठक प्रारम्भिक छलफल मात्रै भएकाले यसैका आधारमा रास्वपाको आधिकारिक धारणा तय भइनसकेको उनले स्पष्ट पारे ।